हिमालयन रेइडर्सलाई पराजित गर्दै विराटनगर ब्यान्डिट्स नेपाल कबड्डी लिग (एनकेएल) को प्ले अफमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको दिनको पहिलो खेलमा विराटनगरले हिमालयनलाई ३४-३० ले पराजित गर्दै अघिल्लो चरणको यात्रा पक्का गरेको हो ।
योसँगै प्ले अफमा पुग्ने तीन टोलीको टुंगो लागेको छ । काठमान्डु माभरिक्स र जनकपुर नाइट्स एक खेल अगाबै प्ले अफमा पुगिसकेका छन् । अब एक टोलीले प्ले अफमा स्थान बनाउने छन् ।
हिमालयनविरुद्ध रेडमा विराटनगरले १८, ट्याकलबाट आठ, दुई अलआउटबाट चार र बोनसबाट चार अंक जोडेको हो । हिमालयनले भने रेडबाट १४, ट्याकलबाट नौ, एक अलआउटबाट दुई र बोनसबाट पाँच अंक जोड्यो ।
पहिलो हाफमा विराटनगरले तीन अंकको अग्रता लिंदै हिमालयनलाई दबाबमा राखेको थियो । त्यो अग्रता अन्तिमसम्म पनि कायम राख्दै विराटनगरले तेस्रो जित निकाल्न सफल भएको हो ।
जनकपुर शतप्रतिशत जितसहित २० अंक जोडेर शीर्ष स्थानमा छ । काठमान्डु र विराटनरको समान १६ अंक छ। तेस्रो हार बेहोरेको हिमालयन चार खेलबाट ६ अंक बटुल्दै पाँचौं स्थानमा छ ।
पहिलो हाफमा विराटनगरले रेडबाट १०, ट्याकलबाट दुई, एक अलआउटबाट दुई र बोनसबाट चार पोइन्ट जोडेको थियो । हिमालयनले भने रेडबाट १५, रेडबाट नौ, ट्याकलबाट तीन, एक अलआउटबाट दुई र बोनसबाट एक अंक मात्रै बटुल्न सक्यो ।
योसँगै विराटनगरले १८-१५ को अग्रता लियो। दोस्रो हाफमा हिमालयनले विराटनगरलाई कडा टक्कार दिएको थियो । तर, अघिल्लो हाफमा लिएको तीन र यो हाफमा लिएको एक अंकको अग्रता विराटनगरलाई जिताउन महत्त्वपूर्ण सावित भयो । दोस्रो हाफमा १६ र हिमालयनले १५ पोइन्ट थप्यो।
रेडमा विराटनगरले आठ, ट्याकलमा ६, एक अलआउटमा दुई पोइन्ट बटुल्यो । हिमालयनले भने रेडमा पाँच, ट्याकलमा चार र बोनसबाट ६ पोइन्ट बटुले पनि जितमा पर्याप्त बन्न सकेन ।
