पोखरा । टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग पराजित हुँदा सशस्त्र प्रहरी बल एपीएफ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ ।

पोखरो रंगशालामा बुधबार दिउँसो भएको खेलमा पुरुषतर्फ हेल्प नेपालसँग ३-२ को सेटले पराजित हुँदै एपीएफ प्रतियोगितबाट बाहिरिएको हो । तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेको एपीएफले पाँचौं सेटमा सम्हालिन नसक्दा प्रतियोगितबाट बाहिरिनु पर्यो ।

हेल्प नेपालले पहिलो सेट २५-२२ र दोस्रो सेट २९-२७ ले आफ्नो पक्षमा पारेको थियो । हेल्प नेपालले तेस्रो सेट १३-२५ र चौथो सेट २३-२५ ले एपीएफलाई सुम्पिएको थियो । पहिलो र दोस्रो सेट गुमाएको एपीएफले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दा खेल पाँचौं सेटमा धकेलिएको थियो ।

पाँचौं सेटमा सुरुआतबाटै अग्रता लिँदै हेल्प नेपालले १५-१२ ले जित निकाल्यो। ७-१२ को अवस्थालाई उल्टाउँदै १२-१३ को अवस्थामा पुर्याएपनि अन्तिम समयमा अंक जोगाउन नसक्दा एपिएफले हार बेहोर्नु पर्यो ।

हेल्प नेपालले अब लिग चरणको अन्तिम खेल गण्डकी प्रदेशसँग खेल्नेछ । उक्त खेलमा जित निकाल्ने टोलीले एलिमिनेटर खेल्नेछ । पराजित हुने टोली प्रतियोगितबाट बाहिरिनेछ । यसअघि भएको खेलमा महिलातर्फ एपीएफ क्लबले आयोजक टाइगर ग्रुपलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

यस्तै आजै भएको खेलमा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको थियो । ट्राभल इन्क्वारीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटले पराजित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *