लोकेश बमको शानदार शतकमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले राजधानीमा जारी जय नेपाल कप क्रिकेट प्रतियोगितामा फराकिलो जित हासिल गरेको छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दिनको दोस्रो खेलमा त्रिविले पूर्वाञ्चल विश्वविद्याललाई १ सय ६७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

पहिले ब्याटिङ त्रिविले निर्धारित २० ओभरमा २ विकेट मात्र गुमाएर २ सय ११ रन बनाएको थियो । त्रिविका लागि लोकेश बमले ५३ बलमा १ सय ३ रन प्रहार गरे । उनको शतकीय इनिङ्समा १२ चौका र ५ छक्का समावेश थिए । त्यस्तै, आइश भट्टराईले पनि उत्कृष्ट प्रदर्शन गर्दै ५७ बलमा ८८ रनको योगदान दिए ।

२ सय १२ रनको लक्ष्य पछ्याएको पूर्वाञ्चल विश्वविद्यालय ८.५ ओभरमा मात्र ४४ रनमा अलआउट भयो । पूर्वाञ्चलका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसैगरी, बिहीबारै भएको पहिलो खेलमा भारतको लखनउ विश्वविद्यालयले बिहार विश्वविद्यालयलाई ५ विकेटले पराजित गर्यो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा १ सय ७ रनको लक्ष्य लखनउले १८.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । लखनउका लागि मनान कान्दपालले ४१ बलमा ३६ रन तथा यश वद्र्धनले २५ बलमा २७ रन बनाए ।

त्यसअघि बिहार विश्वविद्यालयले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन जोडेको थियो ।बिहारका लागि शलव सिंहले ४१ तथा शुभमले २३ रनको योगदान दिए ।

नेपाल विद्यार्थी संघले आयोजना गरेको प्रतियोगितामा नेपालका ४, भारतका ३, तथा बंगलादेशको १ विश्वविद्यालयको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *