ललितपुर । फरवार्ड रश्मी कुमारी घिसिङको ह्याट्रिकको मद्दतमा नेपाल एपीएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा शानदार सुरुआत गरेको छ ।
शुक्रबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले बागमती युथ क्लबमाथि ५-१ को फराकिलो जित निकाल्दै शानदार सुरुआत गरेको हो ।

एपिएफलाई फराकिलो जित दिलाउन रश्मी कुमारी घिसिङले ह्याट्रिक पुरा गर्दा सबिता राना मगर र अनिता केसीले समान एक गोल गरिन् । बागमतीकी पुष्पा कुमारी खड्काले एक गोल फर्काइन् ।
पहिलो हाफमा एपिएफले ३ गोल गरेको थियो । खेलको छैटौं मिनेटमा रश्मीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् । खेलको १२औं मिनेटमा रश्मीले ब्यक्तिगत दोस्रो गोल गर्दा एपिएफको अग्रता दोब्बर भयो । बागमतीकी पुष्पा कुमारी खड्काले खेलको १६औं मिनेट गोल गर्दै खेल २-१ को स्थितिमा पुर्याइन् ।
साबिताले एपिएफलाई २७औं मिनेटमा गोल गर्दै ३-१ को अवस्थामा पुर्याइन् । त्यसैगरी अनिताले खेलको ५९औं मिनेटमा गोल गरेपछि एपिएफ ४-१ ले अघि बढ्यो । रश्मीले खेलको ६९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

खेलमा ह्याट्रिक गरेकी रश्मी ‘प्लेयर अफ दी म्याच’ चुनिइन् । उनले ५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरिन् ।
जितसँगै एपिएफ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लगातार दोस्रो हारसँगै बागमती पुछारमा झरेको छ । पहिलो खेलमा बागमती आर्मीसँग २-० ले पराजित भएको थियो ।
गत भदौमा भएको दोस्रो चरणको लिगमा सहभागी दश टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणमा पुगेका हुन् ।प्रतियोगितामा बिभागिय तीन टोली नेपाल पुलिस, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबसंगै वालिङ नगरपालिका र बागमती युथ क्लब सहभागि छन् ।
माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा कूल २४ खेलहरु हुनेछन् । लिग चरणको २० खेलपछि शीर्ष ४ टोलीले प्लेअफमा स्थान बनाउनेछन् ।
लिगमा आइतबार आर्मी र पुलिसबिच खेल हुनेछ ।
