सुनसरी । इटहरीमा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगितामा टिडब्लुवाइसी भेट्रान क्लब बिराटनगर सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा दमक लखनपुर भेट्रान क्लब झापालाई १-० गोलले निराश बनाउँँदै विराटनगरले अन्तिम चारमा स्थान बनाएको हो ।

इटहरी-५ पचरुखीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा विराटनगरलाई जित दिलाउन गणेश लावतीले निर्णायक गोल गरे । उनले खेलको २४औं मिनेटमा गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच विराटनगरका राजन मगर घोषित भए । उनले नगद २,१०० रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल पूर्बेली भेट्रान क्लब बिर्तामोड र हाम्रो राजारानी भेट्रान क्लब धनकुटाबीच हुनेछ ।
हाम्रो इटहरी भेट्रान क्लबको आयोजनामा जारी प्रतियोगितामा कुल आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार तथा उपविजेताले ६१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ १२ गते हुनेछ ।
