इटालियन सिरी ‘ए’ मा युभेन्टस र शीर्ष स्थानको एट्ल्यान्टाको कठिन जित निकालेका छन् ।

आईतवार राति भएको खेलमा युभेन्टसले मोन्जामाथि २-१ को जित निकालेको हो ।

मोन्जाको घरेलु मैदान यु-पावर स्टेडियममा भएको खेलमा भ्रमणकारी टोली युभेन्टसका लागि वेस्टन म्याककेइने र निकोलास गोन्जालेजले गोल गरे । मोन्जाका लागि सामुइले बिरिन्डेल्लीले एक गोल फर्काए ।

खेल सुरु भएको १४ औं मिनेटमा टिउन कोपमैनेर्सको पासमा म्याककेइनेले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । तर, २२ औं मिनेटमा एन्ड्रे कारबोनीको पासमा बिरिन्डेल्लीले गोल फर्काउँदा खेल १-१ को बराबरी स्थितिमा पुर्याए ।

खेलको ३९ औं मिनेटमा म्यानुएल लोकाटेलीको पासमा गोन्जालेजले गोल गर्दा युभेन्टस २-१ ले अघि बढ्यो । दोस्रो हाफमा भने खेलमा कुनैपनि गोल हुन नसकेपछी युभेन्टस २-१ ले बिजयी भयो ।

त्यसैगरि आइतबार राती भएको खेलमा एट्ल्यान्टाले एम्पोलीलाई ३-२ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा २ अंंकको अग्रता बनाएको छ ।

एट्ल्यान्टाको जितमा चार्ल्स डे केटेलेरले दुई तथा एडेमोला लुकम्यानले एक गोल गरे भने एम्पोलीका लागि लोरेन्ज कोलोम्बो र सेबास्टियानो एस्पोसिटोले समान १ गोल गरे ।

जितपछि युभेन्टस सिरी ए मा १७ खेलबाट ३१ अंक जोडेर लिगको छैटौं स्थानमा कायम छ । लिगको शीर्ष स्थानमा रहेको एट्ल्यान्टा १७ खेलबाट ४० अंक छ । मोन्जाको भने समान १७ खेलबाट १० अंकसहित तालिकाको पुच्छारमा छ । एम्पोली १७ खेलबाट १९ अंंकका साथ ११औं स्थानमा छ ।

इटालियन सिरि ए फुटबलमै अन्य खेलमा भेनेजियाले क्याग्लियारीलाई २–१ गोलले पराजित गर्दा रोमाले पार्मालाई ५-० गोलको फराकिलो अन्तरले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *