नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले महिला फुटबल खेलाडीहरुको विकासका लागि लुम्बिनी कप महिला फुटबल महत्वपुर्ण अवसर हुने बताएका छन् ।
शुक्रबार नेपालगन्ज रंगशालाको निरीक्षण गर्ने क्रममा मन्त्री चौधरीले लुम्बिनी कप महिला फुटबल शुरुवात हुनु देशकै लागि खुसीको कुरा भएको बताएका हुन् । उनले भने, ‘नेपालमा अहिले खेलकुदको माहोल बनेको छ । त्यसमध्ये पनि महिला खेलाडीहरुले उत्कृष्ट नतिजा निकालिरहनु भएको छ । लुम्बिनी कप महिला फुटबल हुनु भनेको खुसीको कुरा हो ।’
मन्त्री चौधरीले लुम्बिनी कप महिला फुटबल हुनु भनेको लुम्बिनीबासीको लागि मात्र नभएर सम्पुर्ण देशबासीहरुको लागि सुखद कुरा भएको धारणा राखे ।
उनले, ‘महिला खेलाडीको प्रगति उन्नतीको लागि भैरहेको लुम्बिनी कप महिला फुटबलको प्रतियोगिताको सफलताको शुभकामना दिन चाहन्छु । र आयोजकलाई यो प्रतियोगिता निरन्तर आयोजनालाई आग्रह गर्न चाहन्छु । अहिले खेलकुद प्रतियोगिता एक वर्ष हुने अर्को वर्ष नहुने भैरहेको छ । प्रतियोगिता आयोजना गर्न युवा तथा खेलकुद मन्त्रालयले के सहयोग गर्न सक्छ त्यसको लागि हामी तयार छौं ।’
लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव टिरन गौतमले लुम्बिनी कप महिला फुटबलले प्रदेशको फुटबललाई माथि उकास्न महत्वपुर्ण भुमिका खेल्ने बताए । उहाँले प्रतियोगितालाई सफल बनाउन लुम्बिनी प्रदेशले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । प्रतियोगितालाई मध्यनजर गरेर नेपालगन्ज रंगशालाको मैदान व्यवस्थापनको लागि समेत राष्ट्रिय खेलकुद परिषदसँग बजेट माग गरिएको उनले जानकारी गराए ।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी कप महिला फुटबल आगामी फागुन १९ गतेदेखि २९ गते सम्म आयोजना हुँदैछ । प्रतियोगितामा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनु भयो । प्रतियोगिता पश्चिम नेपालकै गर्व गर्न लायक इभेन्ट बन्नुका साथै पर्यटन विकासमा समेत कोशेढुंगा सावित हुने शाहले बताए ।
शुक्रबार नेपालगन्ज रंगशालाको निरीक्षणको क्रममा लुम्बिनी खेलकुद विकास परिषदका निवर्तमान सदस्यसचिव भीम ओली, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति क्षेत्र नम्बर ५ नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द लगायतको सहभागिता रहेको थियो । यसैगरी मन्त्री चौधरीले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सचिवालको पनि अवलोकन गरेका थिए ।
