इंग्लिस प्रिमियर लिगमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।
एमिरेट्स स्टेडियममा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेको हो । खेलको पहिलो हाफ सामान्य र निरस देखिएको भए पनि दोस्रो हाफमा घरेलु टोलीले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।
आर्सनलका लागि सेट पिसहरू नै खेलको मुख्य निर्णायक साबित भए। पहिलो गोल डेक्लन राइसको कर्नरबाट जुरियन टिम्बरले आकर्षक तरिकाले ५४ औं मिनेटमा हेड गर्दै गरेका थिए । त्यसपछि अर्को कर्नरमा विलियम सालिबाले आफ्नो पछाडिको भागबाट ७३ औं मिनेटमा बल गोलपोस्टभित्र पुऱ्याउँदै टोलीको अग्रता दोब्बर बनाए ।
जितसँगै मिकेल आर्टेटाको टोलीले प्रिमियर लिगको शीर्ष स्थानको दौडमा आफूलाई बलियो बनाउँदै सात अंकको दूरीमा झरेको छ । आर्सनले २८ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।
म्यानचेस्टर युनाइटेडका लागि भने यो नयाँ प्रशिक्षक रुबेन अमोरिमको नेतृत्वमा पहिलो हार हो। युनाइटेड अहिले १९ अंकका साथ तालिकाको ११ औं स्थानमा छ।
