इंग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडको हार्ने क्रम जारी रहेको छ ।
सोमबार राती भएको खेलमा चेल्सीले घरेलु टोली इप्स्विच टाउनसँँग २-० को हार ब्यहोरेको छ । चेल्सीको यो लागातार दोस्रो हार हो । यसअघि चेल्सी शुक्रबार फुलहमसँग २-१ ले पराजित भएको थियो ।
घरेलु मैदानमा इप्स्विचलाई जित दिलाउन र लियाम डेलाप ओमारी हुटचिनसनले समान एक-एक गोल गरेका थिए ।
खेलको १२औं मिनेटमा पेनाल्टी मार्फत डेलापले गोल गरेपछि इप्स्विचले अग्रता लिएको थियो । त्यसैगरी इप्स्विचका हुटचिनसनले खेलको ५३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।
हारपछि चेल्सी १९ खेलबाट ३५ अंकका साथ चौथों स्थानमा छ भने जितपछि इप्स्विच १९ खेलबाट १५ अंंक जोडेर १८औं स्थानमा उक्लिएको छ ।

यता, म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगको यस सिजनमा खराब प्रदर्शन कायम राखेको छ ।
सोमबार राती भएको खेलमा युनाइटेड घरेलु मैदानमै न्यूक्यासलसँग २-० ले हारेको हो । युनाइटेडको यो लगातार तेस्रो हार हो । गएको शुक्रबार राती भएको खेलमा समेत युनाइटेड वुल्भ्सँग २-० ले नै हारेको थियो ।
न्यूक्यासलको जितमा एलेक्जेण्डर इसाक र जोएलिंटनले समान एक-एक गोल गरे ।
खेलको चौथों मिनेटमै इसाकले गोल गर्दै न्यूक्यासललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १९ औँ मिनेटमा जोएलिंटन गोलमा न्यूक्यासलले अग्रता दोब्बर पार्यो ।
दोस्रो हाफमा लगातार गोलको अवसर बनाएपनि युनाइटेडले गोल फर्काउन सकेन । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि न्यूक्यासल विजयी भयो ।
यो हारसँँगै युनाइटेड १९ खेलबाट २२ अंंकका साथ अंंक तालिकाको १४औं स्थानमा कायम छ भने समान खेल खेलेको न्यूक्यासल ३५ अंंक जोडेर पाँचौं स्थामा उक्लिएको छ ।
लिगकै अर्को खेलमा एभर्टन र ब्राइटनले २-२ को बराबरी खेल्दै अंक बाँडे ।
