धरान । तेस्रो धरान मेघा यु-१८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको उपाधिका लागि आयोजक धरान मेघा ए र होलिल्यान्ड स्कुल प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक धरान मेघा ए टिमले सियोन स्कुललाई ५१-३९ को अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको पहिलो क्वाटरमा सियोन स्कुलले ८-४ को अग्रता लिए पनि दोस्रो, तेस्रो र चौथो क्वाटरमा धरान मेघा ए टिमले क्रमशः १४-११, १३-११, र २०-९ को अन्तरले पुनरागमन गर्दै जित हात पारे ।

दोस्रो सेमिफाइनल खेलमा होलिल्यान्डले झापाको टावर टेम्पल स्कुललाई ५९-३७ अंकको सहज जित निकाल्दै फाइनल प्रवेश गर्यो ।

होलिल्यान्डले पहिलो, तेस्रो र चौथो क्वाटरमा क्रमशः १४-६, २०-५ र २१-१२ अंकको प्रभुत्व जमाउँदै खेल जित्यो । दोस्रो क्वाटरमा टावर टेम्पलले १४-४ को अग्रता बनाएको थियो ।

दिवंगत पुर्व बास्केटवल खेलाडि रेवाहाङ राईको स्मृतिमा विगत तिन बर्षदेखि धरान मेघा हिमालयन कलेज, बास्केटवल संघ र रेवाहाङका परिवारको सहकार्यमा प्रतियोगिता सुरु भएको हो । धरान १८ निवासी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो ।

१२ कक्षा सम्मका विद्यार्थीहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा १४ टिमले सहभागिता जनाएको छ । प्रतियोगिताका विजेता टिमले नगद २५ हजार, उपविजेताले नगद १२ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयर र उदयीमान खेलाडीले नगद पुरस्कारका साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा धरान बास्केटबल सङ्घ, सुनसरि बास्केटबल सङ्घ र रेवाहाङ रुछेन्बुङ राई स्मृति प्रतिष्ठानको विशेष सहयोग रहेको छ ।

फाइनल खेल शुक्रवार बिहान ८ बजे धरान मेघा कलेजको बास्केटबल कोर्टमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *