विराटनगर | एबी ५ एफसी विराटनगर फुटसल लिगको फाइनलमा पुगेको छ ।
आइतबार विराटनगरस्थित ज्याम्बोरी नेक्ससमा भएको लिग चरणको अन्तिम खेलमा अपटाउन एफसीलाई ४-१ गोल अन्तरले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
शीर्ष स्थानको एबी ५ एफसीले १० खेलमा लगातार जित निकाल्दै ३० अंक जोड्न सफल भएको छ । समान खेलबाट १६ अंक जोडेको अपटाउन एफसी दोस्रो स्थानमा रहँदै क्वालिफायरमा प्रवेश गरेको छ ।
त्यसैगरी आइतबार नै भएको दशौं तथा अन्तिम चरणका खेलमा विराटनगर स्पोर्ट्स एकेडेमीले स्टार बोइज एफसीलाई ३-२ गोलले हराउँदा रियुनाइटेड एफसीले क्लासिको एफसीलाई ५-३ गोलले हरायो ।

अपटाउन एफसीसँँगै स्टार ब्वाइज एफसीपनि समान १६ अङ्कका साथ तेस्रो स्थानमा रहँँदै क्वालिफायरमा प्रवेश गरेको छ ।
विराटनगर स्पोर्ट्स एकेडेमी (चौथों), रियुनाइटेड एफसी (पाँचौं) र क्लासिको एफसी (छैटौं) भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
अपटाउन एफसी र स्टार बोइज एफसीबीच हुने क्वालिफायर खेल आज साँझ ६ बजेदेखि शुरु हुनेछ । क्वालिफायरको विजेता टोलीले एबी ५ एफसीसँग उपाधिको लागि भिड्नेछ ।
फाइनल खेल मंगलबार (भोलि) हुने आयोजक विराटनगर सिटी फुटबल क्लबका कार्यकारी निर्देशक शुभाशीष कोइरालालेजानकारी गराएका छन् ।
विराटनगर फुटसल लिगले स्थानीय फुटबलको विकासमा महत्वपूर्ण भूमिका खेले र यसले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ ।
तस्वीरहरु:








