घरेलु टिम रेडहर्स दोस्रो इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। ‘ए’ डिभिजन क्लब संकटालाई टाइब्रेकरमा ४-३ अन्तरले हराउँदै रेडहर्सले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

रेडहर्सलाई जित दिलाउन गोलरक्षक विवेक मगर नायक बने । टाइब्रेकरमा मगरले संकटाका कृपाकान्त चौधरीको प्रहार बचाएका थिए । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलका थिए। टाइब्रेकरमा रेड हर्सका अशोक खवास, हेमन लिम्बू, आयुश तिम्सिना र रोमन भुजेलको प्रहार गोलमा परिणत भएको थियो । संकटाका कप्तान कुलदीप कार्की, पुष्कर खड्का र रोशन पहारीको प्रहार गोलमा परिणत भएको थियो । कृपाकान्त चौधरीको प्रहार गोलरक्षक विवेक मगरले बचाउँदा युवराज ढकालको प्रहार बाहिरिएको थियो ।

खेलको म्यान अफ द म्याच रेड हर्सका गोलरक्षक विवेक मगर घोषित भए । उनले ८ हजार १ सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र गोर्खा टेरोटेयिल आर्मी (जिटिए) भारत भिड्दै छन् ।

खेलपछि प्रतिक्रिया दिँदै संकटा प्रशिक्षक प्रज्वल प्रतीप क्षेत्रीले रेफ्रीहरू र मैदानका कारण पराजय भोगेको बताए ।उनले घाँसे मैदानमा अभ्यास गरेको खेलाडीहरूले इलामको मैदान कमजोर भएकाले पराजित भएको प्रतिक्रिया दिए । उनले आफ्ना खेलाडीहरू उत्कृष्ट भए पनि लामो समयको यात्राका कारण अपेक्षा अनुरूप नभएको बताए । आयोजकले रेफ्रीहरूलाई बोलाएर सपोर्ट गराएको आरोप लगाए । क्षेत्रीले आफ्ना दुई वटा अफसाइड नभएको बल र केही निर्णयहरू आयोजकको पक्षमा दिएको बताए ।

रेडहर्सका प्रशिक्षक छिरिङ पासाङ शेर्पाले खेलमा जित्ने भए पनि फिनिसिङ अभावका कारण टाइब्रेकरमा पुग्नु परेको बताए । उनले स्थानीय खेलाडीहरू भए पनि प्राय जसो एउटै टिममा खेलेका कारण सहज भएको बताए । उनले विपक्षी टिमको विदेशी खेलाडीका कारण केही कठिन भएको बताए । उनले टिमका तीन जना नयाँ खेलाडी हुँदा केही असहज भए पनि लामो समय खेलाडीहरूलाई क्याम्प राखिएकाले आगामी खेलमा सुधार हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *