नेपालगन्ज । लुम्बिनी कप महिला फुटबल आगामी फागुन १९ गतेदेखि नेपागन्जमा हुने भएको छ।

अन्तरालको आयोजना र बाँके जिल्ला फुटवल संघको सहकार्यमा नेपालगन्ज स्थित महेन्द्र रंगशालामा हुने उक्त फुटबलमा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन्।

अखिल नेपाल फुटवल संघ (एन्फा) ले आयोजकलाई सोमवार पत्र मार्फत लुम्बिनी कप महिला फुटबल संचालनकोलागि २०८१ फागुन १९ देखि २९ गतेको समय दिएको बाँके जिल्ला फुटवल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए।

यस प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरु आउने विश्वास व्यक्त गर्दै अध्यक्ष शाहीले बाँके जिल्ला फुटबल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको बताए।

यस अघि गत मंसिर १६ गते नेपाली महिला फुटवल राष्ट्रिय टिमकी पहिलो क्याप्टेन रमा सिंह र वर्तमान क्याप्टेन एन्जिला तुम्वापो सुब्बाले संयुक्त रुपमा राजधानी काठमाण्डौंमा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका थिए।

लोगोमा शान्तिका अग्रदुत भगवान गौतमवुद्ध र महिला फुटबल खेलाडीको इमेज राखिएको छ भने नेपाली राष्ट्रिय झण्डाको रङ्ग नीलो र सिम्रिक रातो प्रयोग गरिएको छ। सो अवसरमा दुवै क्याप्टेनले खुशी व्यक्त गर्दै प्रतियोगिता महिला फुटवलको विकासकालागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए।

आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले एन्फालाई विशेष धन्यवाद दिंदै बाँके जिल्ला फुटबल संघ र अन्तरालको संयुक्त प्रयासवाट लुम्बिनी कपले साकार रुप लिन लागेको बताए।

‘लुम्बिनी कप महिला फुटबल पश्चिम नेपालकै गर्व गर्न लायक इभेन्ट वन्ने निश्चित छ’ – शाहले भने – ‘फुटबल मात्रै होइन, पश्चिम नेपालकै पर्यटन विकासमा समेत यो कोशेढुंगा बन्नेछ।’ प्रतियोगिता सफल पार्न बाँके र लुम्बिनी प्रदेशका सरोकारवाला सवैलाई हार्दिक अपिल गर्दछौं – अन्तरालका शाहले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *