नेपालगन्ज । लुम्बिनी कप महिला फुटवल प्रतियोगिताको सचिवालय उद्घाटन गरिएको छ ।

बिहिबार नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज रंगशालामा रहेको सचिवालयको उद्घाटन गरेका छन् । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी फागुन १९ गतेदेखि २९ गते सम्म नेपालगन्ज रंगशालामा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ ।

नगर प्रमुख विष्टले नेपालगन्जले लुम्बिनी कप महिला फुटबलले नेपालगन्जलाई फेरी राष्ट्रिय स्तरमा चिनिने अवसर प्रदान गर्ने बताए । उनले भने, ‘नेपालगन्जले देशभरमा खेलकुद क्षेत्रमा आफनो पहिचान बनाएको छ । नेपालगन्ज खेलकुदको हव हो । तर पछिल्लो समय खेलकुदको स्तर घटेको अनुभव भएको छ । यो प्रतियोगिताले नेपालगन्जलाई चिनाउने अवसर पनि हो । हामीसँग भएको स्रोत साधनको प्रयोग गरेर उत्कृष्ट नतिजा निकाल्ने प्रयास गर्नु पर्छ । खेलाडीमाथि राज्यले लगानी गर्नु पर्छ । खेलाडीको सम्मान गर्ने वातावरण बन्नु पर्छ ।’

नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कप महिला फुटवलमा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन् । उद्घाटन समारोहमा बाँके जिल्ला फुटवल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भोजराज शाहीले लुम्बिनी कप फुटबलले यस क्षेत्रको महिला फुटबलको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘कोभिड पछि नेपालगन्जले राष्ट्रिय स्तरको प्रतियोगिता गर्न सकेको थिएन् । तर यो प्रतियोगिताबाट नेपालगन्जमा फुटबल गतिविधि बढेको छ । प्रतियोगितालाई सफल बनाउन संघको सम्पुर्ण टिम खटिनेछ ।’

प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरु आउने विश्वास व्यक्त गर्दै अध्यक्ष शाहीले बाँके जिल्ला फुटवल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको बताए । आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले पश्चिम नेपालमा महिला महत्वपुर्ण प्रतियोगिताको सुरुआत गर्न लागेको बताए । उनले भने, ‘यो प्रतियोगिता यस क्षेत्रलाई चिनाउने प्रतियोगिता हो । लुम्बिनी कप महिला फुटबल सफल बनाउन म सम्पुर्णलाई हार्दिक अपिल गर्दछु ।’

सचिवालय उद्घाटन समारोहमा लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका निर्वतमान सदस्य सचिव भीम ओली, नेपालगन्ज उप- महानगरपालिका निवर्तमान उपमेयर उमा थापा, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द लगायतले प्रतियोगिताको सफलतको शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *