किरात राई यायोक्खा, युकेले सन्जितकुमार राईलाई सम्मान गरेको छ । युकेमा भएको डब्लुएमएसी वेल्स खुला प्रतियोगितामा पदक जित्दै राष्ट्रको गौरव अभिवृद्धि गरेको भन्दै सन्जितलाई सम्मान गरिएको हो ।

डब्लुएमएसी वेल्समा सन्जितले दुई स्पर्धामा समान १-१ स्वर्ण र रजत जितेका थिए । किरात राई यायोक्खा, युकेका अध्यक्ष आशा राई र महासचिव राजेन राम्जाङ राईले सन्जितलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

यसअघि सोही उपलब्धिको कदर गर्दै एनआरएनए, युकेले पनि सन्जितलाई सम्मान गरेको थियो । एनआरएनए, युकेका अध्यक्ष हितकाजी गुरुङ र महासचिव गोविन्द खरेलले सन्जितलाई प्रशंसा पत्रसहित सम्मान गरे ।

डब्लुएमएसी वेल्सअघि सन्जितले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा १ स्वर्ण र १ कांस्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई फरक संस्करणमा सन्जितले २ स्वर्ण जितेका छन् ।

सन्जितले भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै विभिन्न राष्ट्रिय प्रतियोगितामा मुख्य निर्णायका रूपमा पनि काम गरेका थिए । सन्जित नेपाल उमा कुङफु संघका अध्यक्ष हुन् ।

हाल युकेमै रहेका सन्जित यसै साता स्वदेश फर्किंदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *