एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले जित्न बिर्सिसक्यो भन्दा पनि भयो । किनभने, सिटी फेरि एकपटक आफ्नै घरेलु मैदानमा जितविहीन बनेको छ ।
आज बिहीबार भएको १८औं खेलमा सिटी आफ्नै घरेलु मैदानमा १७औं स्थानको एभर्टनसँग सिटी १-१ मा रोकिँदै अंक गुमाउन बाध्य भयो । १७औं स्थानको एभर्टन पाहुना टोली बनेर सिटीको घरमा जाँदा पहिला गोल खाए पनि त्यसपछि खेलमा फर्कियो । र, लगातार खराब नतिजाबाट पीडित बन्दै आएको सिटीलाई फेरि अर्को निराश थपिदियो ।
आजको खेल सहित सिटीले सबैखाले प्रतियोगितामा पछिल्ला १३ खेलमा मात्रै १ खेल जितेको छ । यी १३ खेलमा ३ खेल बराबरी खेलेको छ भने १ खेल जित्दा ९ खेल हारेको छ । १३ खेलमा मात्रै एक जित, यो तथ्यांकले पनि पेप ग्वार्डिओलाको टिम सिटीले अब जित्न बिर्सिसकेको देखाउँछ । आजको १-१ को नतिजा एभर्टनका लागि राम्रो नतजिा हो भने सिटीका लागि चाहिँ लगातारको खराब नतिजा हो ।
आफ्नो घरमा सिटीका लागि १४औं मिनेटमा पोर्चुगिज मिडफिल्डर जेरेमी डोकुको पासमा बर्नान्डो सिल्भाले गोल गरेर अग्रता दिलाएका थिए । तर ३६औं मिनेटमा एभर्टन खेलमा फर्कियो । इलिमानले बक्स भित्रबाट दर्शनीय गोल गरेर खेल बराबरी बनाए ।
त्यसपछि ५३औं मिनेटमा सिटीले पेनाल्टी पायो । तर अर्लिङ हालान्डको पेनाल्टी एभर्टनका लागि गोलकिपरले शानदार ढंगले बचाए । गोलकिपरले रोकेको बल रिबाउन्ड हुँदा सिटीले गोल हान्यो । तर अफसाइडका कारण सो गोलले मान्यता पाएन ।
त्यसपछि बाँकी समयभरि दुवै तर्फबाट थप गोल नहुँदा खेल १-१ को बराबरीमा सकियो । यो खेलमा सिटीले ६७ प्रतिशत पोसेसन राखेर २४ सट प्रहार गर्दा पनि दोस्रो गोल गर्न सकेन । हालान्डको पेनाल्टी मिस आज हारको मुख्य कारण बन्यो ।
अब यो बराबरीपछि सिटी १८ खेलबाट २८ अंकका साथ छैटौं स्थानमा छ भने एभर्टन १७ अंकका साथ १७औं स्थानबाट १५औं स्थानमा चढेको छ ।
