काठमाडौं । नेपालमा जारी सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ को सेमिफाइन समिकरण पुरा भएको छ ।
काठमाडौंको त्रिपुरेश्वतरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार लिग चरणका अन्तिम दुई खेल सकिएसँगै च्याम्पियनसिपको सेमिफाइनल समिकरण पुरा भएको हो ।
आजको अन्तिम खेलमा घरेलु टोली गण्डकी प्रदेश भारतको क्यालिकट हिरोजसँग ३-० को सोझो सेटमा पराजित हुँदै लिग चरणबाट नै बाहिरीएको छ । आजको हारसँगै गण्डकी लिग चरणका चारै खेलमा जिति विहीन बन्दै बाहिरीएको हो ।
यस्तै आजको पहिलो खेलमा अर्का घरेलु टोली टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब इरान-१८ टोलीसँग ३-१ को सेटमा पराजित भएको थियो ।
लिग चरणको समाप्तिसँगै अब इरान-१८ ले १० अंकसहित शीर्ष, हेल्प नेपाल ८ अंकसहित दोश्रो, क्याटिकटले ७ अंकसहित तेश्रो र भाल्दिभ्सको क्लब एचडीसीले २ अंकसहित चौथो स्थानमा रहेर सेमिफाइनल खेल्ने भएका छन् ।
अब शीर्ष स्थानको इरानले तेश्रो स्थानको क्यालिकटसँग पहिलो तथा हेल्प नेपालले चौथो स्थानको एचडीसीसँग दोश्रो सेमिफाइनल खेल खेल्ने छन् । सेमिफाइनलका दुवै खेल भोलि शुक्रबार हुनेछन् ।
पहिलो सेमिफाइनल दिउँसो २:३० र दोश्रो सेमिफाइनल खेल साँझ ५ बजे शुरु हुनेछन् । नेपालका दुईसहित पाँच टोली सहभागी च्याम्पियनसिपको फाइनल खेल शनिबार हुनेछ ।
