काठमाडौं । साबिक विजेता निरज तामाङले ४ – अन्डर ६४ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन एकल अग्रता लिएका छन् ।
बिहीबारसम्म ५४ होलको खेल सकिंदा निरजले समग्रमा १०-अन्डर १९४ सहित एमेच्योर सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन् ।
एमेच्योर सद्भाव पनि बिहीबार ४ – अन्डर ६४ स्कोर गर्दै समग्रमा ९ – अन्डर १९९५ सहित दोस्रो स्थानमा उक्लिए । दोस्रो दिनका लिडर विष्णु प्रसाद शर्माले १ – ओभर ६९ को खराब प्रदर्शन गर्दा समग्रमा ६ – अन्डर १९८ को स्कोरमा तेस्रो स्थानमा झरे ।
समग्रमा ५- अन्डर १९९ सहित दिनेश प्रजापती चौथो स्थानमा यथावत रहे। उनले आज १ – अन्डर ६७ को स्कोर निकाले । एमेच्योर गल्फर राहुल विके समग्रमा २-अन्डर २०२ सहित पाँचौं स्थानमा रहे । उनले पनि आज १ – अन्डर ६७ मा खेल सकाए ।
इभन (पार ६८ खेलेका भेट्रान प्रो दीपक मगर समग्रमा १- अन्डर २०३ सहित छौटौं स्थानमा छन् । नेपाल नम्बर एक प्रो भुवन नगरकोटी समग्रमा इभन पार २०४ सहित सातौं स्थानमा उक्लिए । उनले तेस्रो दिनको खेल १ – अन्डर ६७ मा सकाए ।
समग्रमा २ (ओभर २०६ बनाएका वसन्तराज गुरुङ, रामे मगर र प्रदीपकुमार लामा संयुक्तरुपमा आठौं स्थानमा रहे। वसन्त र रामेले ३ – अन्डर ६५ र प्रदीपले इभन – पार ६८ को स्कोर दर्ज गरे ।
रोयल नेपाल गल्फ क्लबमा निरज शीर्षस्थानमा उक्लने क्रममा राम्रो सुरुआत गरे । दोस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे । नवौं होलमा एक सट खेर फाल्दा फ्रन्ट नाइन ३-अन्डर ३१ मा पुरा गरे । यसपछि १० औं र ११औं होलमा बर्डी प्रहार गरे भने १२औं होलमा बोगी खेल्दै ब्याक नाइनमा १ – अन्डर ३३ को स्कोर निकाले ।
सद्भावले बोगीरहित स्कोर कार्ड बनाउने क्रममा कुल चार बर्डी प्रहार गरे । फ्रन्ट नाइन १ – अन्डर ३३ र ब्याक नाइन ३ (अन्डर ३१ मा सकाए । उनले चौथो, १०, १३ र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे ।
विष्णुले फ्रन्ट नाइन १ – अन्डर ३३ खेले । उनले पहिलो, तेस्रो र नवौं होलमा बर्डी प्रहार गर्दा पाँचौं र आठौं होलमा एक/एक सट खेर फाले । ब्याक नाइनमा भने उनले लय गुमाए । १०औं होलमा बर्डी प्रहार गरेपनि १५, १६ र १७औं होलमा बोगी खेप्दै २ ओभर ३६ मा सकाए ।
विजेताले उपाधिसँगै १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुनेले क्रमश ८५ हजार र ६८ हजार रुपैयाँ हात पार्नेछन् । साथै कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको अन्तिम १८ होलको खेल शुक्रबार हुनेछ ।
