इंग्लिस प्रिमियर लिगमा लिभरपूलले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ । गएराति भएको खेलमा लेस्टर सिटीलाई ३-१ गोलले हराउँदै लिभरपूलले सात अंकको अग्रता बनाएको हो ।

लिभरपूलको घरेलु मैदान एन्डफिल्ड रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन मोहमद सलाह, कोडी गाक्पो र कर्टिस जोन्सले समान एक एक गोल गरेका थिए । पराजित लेस्टरका लागि जोर्डन एयुले एक गोल गरेका थिए ।

यो सिजनमा सुरूदेखि नै आफ्नो उत्कृष्ट लय कायम राख्न सफल लिभरपूलले एक गोलले पछि परेको अवस्थाबाट ‘कमब्याक’ गरेको हो ।

खेलको छैटौं मिनेटमा नै मविदिदीले बायाँतर्फबाट दिएको लो क्रसमा जोर्डन एइले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफमा नै प्रशिक्षक आर्नोस स्लटकोटोलीको टोलीले गोल फर्काउन सफल भयो । लिभरपूलको तर्फबाट कोडी गाक्पोले गोल गरेका थिए । उनले पहिलो हाफको इन्ज्युरी समयमा बराबरी गोल गरेका हुन् ।

खेलको ४९औं मिनेटमा कर्टिस जोन्सले गोल गरेपछि भने लिभरपूल २-१ ले अघि बढ्यो । त्यसैगरी खेलको ८२ औं मिनेटमा गाक्पोको असिस्टमा सलाहले गोल थप्दा लिभरपूल ३–१ ले विजयी भयो ।

जितसँँगै शीर्ष स्थानको लिभरपूलले १७ खेलबाट ४२ अंक जोडेको छ । लिभरपुलले अहिलेसम्म एक खेलमा मात्रै हार बेहोरेको छ । त्यसैगरी दोस्रो स्थानको चेल्सीको ३५ अंक छ । लेस्टर १८ खेलमा १४ अंकसहित तालिकाको १८औं स्थानमा झरेको छ ।

बिहिबार राती भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड वुल्भ्ससँँग २-० गोलले पराजित भयो ।

घरेलु मैदानमा वुल्भ्सलाई जित दिलाउन म्याथेस कुन्हा ह्वाङ हि–चानले समान एक एक गोल गरेका थिए । खेलमा युनाइटेड कप्तान ब्रुनो फर्नान्डेज रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए ।

म्यानचेस्टर युनाइटेडको यस सिजनमा यो आठौं हार हो । यो हारपछि म्यानचेस्टर युनाइटेड १८ खेलमा २२ अंकसहित १४औं स्थानमा झरेको छ । उल्भ्सले भने जितसँगै १५ अंकका साथ रेलिगेसन क्षेत्र छाडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *