इंग्लिस प्रिमियर लिगमा बिहिबार दुई ठूला क्लब टोटनहम र चेल्सीले हार व्यहोरेका छन् ।
बिहीबार राती स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा अन्तिम मिनेटमा सम्हालिन नसक्दा घरेलु मैदानमै चेल्सीले फुलहमसँग २-१ को हार ब्यहोरेको हो ।
चेल्सीले फुलहमविरुद्ध पहिलो हाफमा अग्रता लिए पनि दोस्रो हाफमा जोगाउन असफल रह्यो । कोल पाल्मरले खेलको १६ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ८१औँ मिनेटमा ह्यारी विल्सनले गोल गर्दै फुलहमलाई खेलमा फर्काए ।
यस्तै, इन्जुरी समयको पाँचौँ मिनेटमा रोड्रिगो मुनिजले निर्णायक गोल गरेपछि चेल्सी घरमै स्तब्ध बनेको हो ।
यो हारसँगै चेल्सीले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गर्ने मौका गुमायो । तालिकाको दोस्रो स्थानको चेल्सीले १८ खेलबाट ३६ अंक छ । तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलले १६ खेलबाट ३९ अंक छ । लगातार पाँचौं खेलमा अपराजित रहेको फुलहम १८ खेलबाट २८ अंक जोडेर तालिकाको आठौँ स्थानमा कायम छ ।

प्रिमियर लिगमा बिहीबारै भएको अर्को खेलमा टोटेनहम हटस्परले नटिङ्घम फरेस्टसँग हार ब्यहोरेको छ । टोटेनहम घरेलु टोली नटिङ्घम फरेस्टसँग १-० ले पराजित भएको हो ।
सिटी ग्राउन्डमा भएको खेलमा एन्थोनी एलान्गाले खेलको २८औं मिनेटमा गरेका गोल निर्णायक बन्यो ।
जितसँँगै नटिङ्घम १८ खेलबाट ३४ अंक जोडदै अंंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित टोटेनहमको १८ खेलबाट २३ अंकका साथ ११औं स्थानमा छ ।
प्रिमियर लिगका अन्य खेलमा बर्नमाउथ र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अंक बाड्दा न्युकासल युनाइटेडले एस्टन भिल्लालाई ३-० गोल अन्तरले हरायो । यस्तै, साउथ ह्याम्पटनले घरेलु मैदानमै वेस्ट हमसँग १–० को हार बेहोरेको छ ।
