ललितपुर । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा ७ औं तुल्सीलाल स्मृति क्लब टिम चेस च्याम्पियनसिप शुरु भएको छ ।

पहिलो चरणको खेलमा नै ईन्जिनियरिङ कलेज टिमले डिफेन्डिङ च्याम्पियन टोलिलाई अप्रत्याशित पराजयको स्वाद चखाउन सफल भएका छन् ।

ईन्जिनियरिङ टिमका आशिष् भुषालले वर्तमान नेपाल च्याम्पियन राजन सुवेदीलाई , ससजन काफ्लेले प्रकाशचन्द्र नेपाललाई र सम्यक श्रेष्ठले पूजा भण्डारीलाई हराउन सफल भएका छन् भने महेश खड्का सिएम पुरुषोत्तम चौलागाईंसंग हार आत्मसाथ गरेका छन् ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुरु भएको क्लब टिम चेस प्रतियोगिताको पहिलो दिन ललितपुर महानगरपालिकाको टिमले सानदार खेल प्रदर्शन गरि महत्वपूर्ण २ अंक जोडेका छन् । महानगरका खेलाडी एफएम रुपेश जैसवाल, सिएम मिलन लामा, युवा पुरुषोत्तम सिलवाल र अभिक शाहले ४-० को जित निकालेका छन् ।

महानगर संगै समान २ अंक जोड्ने क्रममा गोदावरी नगरपालिकाका खेलाडी सानुभाई महर्जन, जनार्दन श्रेष्ठ, सोम आले र हर्षबर्धन राठीले हिमालयन नेक्सजेनका सबै खेलाडी विरुद्ध ४-० को जीत दर्ता गरेका छन् ।

तुल्सीलाल प्रतिष्ठानको सहकार्यमा सञ्चालन भएको अर्को खेलमा कोशी प्रदेश बुद्धिचाल संघले हिमालयन चेस एकेडेमी माथि ४-० को स्कोरमा विजयी हुन सफल भएका छन् । कोशी प्रदेशका मुहान नरसिंह श्रेष्ठ, राजेन्द्र राई, शुशन आचार्य र कृतिसारा अधिकारीले जितको स्वाद चाखेका छन् ।

यसैगरी आयोजक ललितपुर स्पोर्ट्स क्लबले पनि डाइनामिक चेस क्लब , लहान टिमलाई ४-० को स्कोरमा पराजित गरेका छन् । आयोजक टिमका सिएम सजिन महर्जन, शैलेन्द्र न्यौपाने, रिशोन थापा र बिनिता कपालिले खेल आफ्नो पक्षमा पार्न सफल रहे ।

यसैगरी पूर्व उपविजेता भक्तपुर जिल्ला बुद्धिचाल संघको टिमले पेभेलियन चेस एकेडेमी टिमलाई ३.५ – .५ को स्कोरमा हराउन सफल बने। भक्तपुरका बिक्रम चोकमि, विनय थापा, राजेन्द्र सिजख्वले जित प्राप्त गरे भने सयन कोजुले खेल बराबरीमा टुङ्ग्याए ।

प्रतियोगितामा दोलखा जिल्ला बुद्धिचाल संघ, थापाथली चेस पार्क र पुल्चोक इन्जिनियरिङ कलेजले ३-० को स्कोर गर्दै दुई दुई अंक बनाएका छन् । स्पर्धामा महालक्ष्मी नगरपालिका टिम र काठमाडौं चेस क्लबले २.५-१.५ को स्कोर खडा गरि समान २ अंक बनाई राम्रो शुरुआत गरेका छन् ।

क्लब टिम च्याम्पियनसिप ७ चरणको लिग खेल पश्चात् सेमिफाइनल र फाइनल खेल हुनेछ । जसका विजेता टिमले नगद २ लाख , उपविजेताले १ लाख २० हजार , तृतीय हुनेले नगद ६० हजार र चौथो हुने टिमले ४० हजार पुरस्कार प्राप्त गर्ने छन् भने हरेक वोर्डका उत्कृष्ट खेलाडीले १० हजार जनही पाउने छन् ।

प्रतियोगिता पूर्व उदघाटन समारोहमा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाल बुद्धिचाल महासंघ संग सहकार्य गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। समारोहमा पूर्व खेलकुदमन्त्री गोपाल शाक्य, महासंघका महासचिव धरम बहादुर लामा लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताका संयोजक राजु ताम्राकारले सञ्चालन गरेको उदघाटन समारोह महासंघका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो । भोलि बिहान ९ बजे दोश्रो चरणको खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *