इङलिश प्रिमियर लिगमा चेल्सीले साउथहम्पटनमाथि शानदार जित हासिल गरेको छ ।
बुधबार राती घरेलु मैदानमा चेल्सीले साउथहम्पटनलाई ५-१ गोल अन्तरले पराजित गर्दै आफ्नो जित यात्रालाई छैटौं खेल सम्म कायम राखेको छ ।
चेल्सीको जितमा एक्सेल डिसासी, क्रिस्टोफर एन्कुनकु, नोनी मडुएके, कोल पाल्मर र जाडोन सान्चोले एक एक गोल गरेका थिए । त्यसैगरी साउथहम्पटनका लागि जोय अरिबोले एक गोल गरेका थिए ।
खेलको शुरुवातमै एसेल डिसासीको हेडरबाट चेल्सीले अग्रता बनाएको थियो । त्यसको केही समय ११औं मिनेटमा साउथह्याम्टनका जो आरिबोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
१७ औं मिनेटमा क्रिस्टोफर एनकुङ्कुले विपक्षी गोलकिपरको गल्तीको फाइदा उठाउँदै पुनः चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि नोनि माडुएकेले उत्कृष्ट शटमा गोल गर्दै ३१ औं मिनेटमा चेल्सीलाई ३-१ को अग्रता दिलाए ।
खेलको ३९ औं मिनेटमा साउथह्याम्टनका जाक स्टीफन्सलाई मार्क कुकुरेलासँगको टक्करपछि रातो कार्ड दिएपछि साउथह्याम्टन १० खेलाडीमा समेटिएको थियो ।
दोस्रो हाफमा चेल्सीको पूर्ण दबदबा रह्यो । कोल पामर र जाडोन सान्चोले गोल गर्दै नतिजा ५-१ ले जिताए । सान्चोका लागि यो चेल्सीका लागि पहिलो गोल थियो ।
जितसँगै चेल्सी लिगको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीको १४ खेलमा २८ अंक भएको छ । त्यसैगरी साउथहम्पटनको यस सिजनमा यो ११औ हार हो । १४ खेलमा ५ अंक रहेको साउथहम्पटन लिगको पुछारमा रहेको छ ।
