भक्तपुर । औपचारिक रूपमा सञ्चालनमा आयो फिनिक्स फुटबल एकेडेमीफिनिक्स फुटबल एकेडेमी औपचारिक रूपमा सञ्चालनमा आएको छ । भक्तपुरको रोयल नेपाल फुटसल एरेनामा आयोजित कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान विक्रम लामाले फिनिक्स फुटबल एकेडेमीको केक काटेर औपचारिक रूपमा उद्घाटन गरेका हुन् ।

एकेडेमी सञ्चालनमा आएको एक महिनापछि औपचारिक रूपमा सुरुवात भएको घोषणा गरिएको हो । एकेडेमीले एक महिनाअघिदेखि नै बालबालिकाहरूलाई फुटबलको अभ्यास गराउँदै आएको थियो । उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमीको सुरुवात गरिएको एकेडेमीका अध्यक्ष अनुप मगरले जानकारी दिए ।

अध्यक्ष मगरले सानै उमेरमा आफूले पनि फुटबल खेल्दै आएको र अब त्यो सबै त्यागेर फुटबल प्रशिक्षणमै लाग्ने निर्णयका साथ एकेडेमीको सुरुवात गरेको बताए । ‘म आफैं पनि खेलाडी हो । उमेर पनि धेरै भएको छैन । तर, अब त्यो सबै छोडेर खेलाडी उत्पादन गर्नैपर्छ भन्ने लागेर एकेडेमी अघि बढाएको हुँ,’ उनले भने ।

नेपाली फुटबलका लागि भविष्यमा स्टार खेलाडीहरू दिन सक्ने गरी एकेडेमीलाई अघि बढाइने पनि अध्यक्ष मगरले बताए । कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान लामा, फिनिक्स एकेडेमीका अध्यक्ष मगर, काठमाडौं महानगरका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाह, राष्ट्रिय फुटबलर जेलेस्पीजंग कार्की र मणि लामाले संयुक्त रूपमा एकेडेमीको अफिसियल जर्सी सार्वजनिक गरेका थिए ।

यस्तै, एकेडेमीमा नेपाली राष्ट्रिय फुटबल खेलाडी मणि लामा पनि आवद्ध भएका छन् । लामाले एकेडेमीका विद्यार्थीहरूलाई फुटबलको प्रशिक्षण दिने र अन्य राष्ट्रिय खेलाडीहरूलाई पनि जोड्दै जाने अध्यक्ष मगरले बताए । एकेडेमीले हप्ताको तीन दिन बालबालिकालाई फुटबल सिकाउँदै आएको छ । प्रत्येक हप्ताको सोमबार, बुधबार र शुक्रबार साँझ एकेडेमीले बालबालिकालाई फुटबल प्रशिक्षण दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *