मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन महिला एसिया कपको सुपर-४ चरणबाटै नेपाल बाहिरिएको छ ।

नेपाल आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएपछि नेपाल फाइनलमा जानबाट चुकेको हो । बंगलादेशले अब भारतसँग फाइनल खेल खेल्नेछ ।

नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले ९.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको हो ।

वर्षाका कारण खेल ११ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाले निर्धारित ११ ओभरमा ७ विकेट गुमाएर ५४ रन बनाएको थियो ।

बंगलादेशको जितमा फाहोमिदा चोयाले अविजित २६ रनको योगदान गरिन् । मोसाम्मत एभाले पनि १८ रन बनाइन् । सुमैया अख्तर १० रनमा अविजित रहिन् ।

त्यसअघि, बंगलादेशविरुद्धको महत्वपूर्ण खेलमा नेपाली टोलीका कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । ओपनर सावित्री धामीले मात्र दोहोरो अंकमा रन बनाइन् । उनले ११ रन जोडिन् ।

ज्योत्सनिका मरासिनीले पाँच र सिमाना केसीले तीन रन बटुले । एलिसा यादव आठ रनभन्दा अगाडि बढ्न सकिनन् । कुशुम गोदारले तीन रन जोडिन् । तृषना विश्वकर्मा चार रनमा अविजित रहिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *