पाकिस्तानले २२ वर्षपछि अष्ट्रेलियामा एकदिवसीय सिरिज जितेको छ । पाकिस्तानले सन् २००२ पछि पहिलो पटक अष्ट्रेलियामा एकदिवसीय सिरिज जितेको हो ।
आइतबार सम्पन्न सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै पाकिस्तानले सिरिज २-१ ले जितेको हो ।
अस्ट्रेलियाले दिएको १४१ रनको लक्ष्य पाकिस्तानले २६ ओभर ५ बलमा २ विकेटको क्षतिमा प्राप्त गर्यो ।
पाकिस्तानका लागि ओपनर सैम अयुबले सर्वाधिक ४२ रनको इनिङ खेले भने अर्का ओपनर अबदुल्लाह शफिकले ३७ रन बनाए । कप्तान मोहम्मद रिजवान ३० तथा बाबर आजम २८ रनमा अविजित रहे । अस्ट्रेलियाका लागि दुवै विकेट लान्स मोरिसले लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ३१.५ ओभरमा अलआउट हुँदै १४० रन बनाएको थियो । उसका लागि शन एबटले सर्वाधिक ३० रन बनाएका थिए भने ओपनर म्याथिउ शर्टले २२ रन बनाए । एडम जाम्पाले १३ रन जोड्दा स्पेन्सर जोनसोन १२ रनमा अविजित रहे ।
पाकिस्तानका लागि शाहीन अफ्रिदीले ८.५ ओभरमा ३२ रन दिएर ३ विकेट लिए भने नसीम साहले ९ ओभरमा ५४ रन दिएर ३ विकेट लिए । हारिस राउफले २ तथा मोहमद हसनैनले १ विकेट लिए ।
यसअघि पहिलो खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई २ विकेटले हराएको थियो भने दोस्रो खेलमा पाकिस्तानले ९ विकेटको सहज जित निकालेको थियो ।
दुई टोलीबीच अब तीन खेलको टी-२० श्रृंखला पनि हुनेछ ।
