सिरिजङगा स्पोर्टिङ क्लब मोरङ इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा सुरु भएको १७औं संस्करणको आत्मानन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज (आइतबार) भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका इलामलाई टाइब्रेकरमा ४-३ गोलान्तरले पराजित गर्दै सिरिजङगा मोरङ सेमिफाइनल प्रवेश गरेको हो ।
खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरमा धकेलिएको थियो ।
सिरिजङगा मोरङको जितमा आशिष लावती, साउरे राउत, धीरेन क्षेत्री, र रोशन धिमालले गोल गर्दा सुजन रसाइलीको प्रहार माङसेबुङका गोलरक्षकले बचाएका थिए । माङसेबुङका विशाल दर्जी, प्रवीण राई र महेन्द्र लिम्बूले गोल गर्दा रचिन माझीको प्रहार बाहिरियो भने मिलन राईको प्रहार मोरङका गोलरक्षक प्रमिजर गच्छदारले रोकेका थिए ।
खेलको म्यान अफ दी म्याच सिरिजङगा मोरङका गोलरक्षक प्रमिजर गच्छदार घोषित भए । उनले नगद पुरस्कार प्राप्त गरे ।
भोलि आयोजक र दमक भाङबारी स्पोर्टिङ क्लब झापाबीच प्रतिस्पर्धा हुने आयोजक आत्मपवित्र खेलकुद समिति अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।
अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा नेपाल र भारतका ८ चर्चित फुटबल टिम सहभागी छन् ।
आजै भएको सञ्चारकर्मी र शैक्षिक कर्मचारी टिमबीचको मैत्रीपूर्ण खेलमा शैक्षिक कर्मचारी टिम १-० गोलले विजयी भएको छ
विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छ ।
