लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा शनिबार पाँच अंकको ठोस अग्रता लिएको छ । उसले एनफिल्डमा भएको खेलमा डारविन नुनेज र मोहमद सलाहको गोलमा एस्टन भिल्लालाई २-० ले पराजित गर्यो ।
यसअघिको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको हारले लिभरपुललाई अझ फाइदा पुगेको हो । सिटी ब्राइटनको हातबाट २-१ ले स्तब्ध भएको हो । लिभरपुलको ११ खेलबाट २८ अंक भएको छ । समान खेलमा सिटी २३ अंकमा दोस्रोमा छ ।

सिटी भने लगातार चौथो हार बेहोर्न बाध्य रह्यो । पेप ग्वार्डिओलाले सिटी आएयता लगातार चार हारको सामना गरेको यो नै पहिलो पटक हो ।
पहिलो हाफमा इर्लिङ हालान्डले गोल गर्दै सिटिलाई अग्रता दिलाएका थिए तर ब्राइटनले दोस्रो हाफमा दुई गोल गर्दै शानदार कमब्याक गर्यो । ब्राइटनको जितमा जाओ पेड्रो र म्याट ओरिलेले गोल गरे।
अन्य खेलमा ब्रेन्टफोर्डले बर्नमाउथलाई ३–२, फुलहमले क्रिस्टल प्यालेसलाई २- ० र उल्भ्सले साउथह्याम्पटनलाई २-० ले हरायो ।
