यु-१९ क्रिकेट : कर्णाली र मधेस बिजयी

२०८१, २० कार्तिक मंगलवार १६:२६

कर्णाली र मधेस प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आ-आफ्नो अन्तिम खेलमा जित हासिल गरेका छन् ।

मंगलबार भएको आफ्नो अन्तिम खेलमा कर्णाली प्रदेशले बागमतीलाई तथा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको हो ।

जितसँग लगातार दोस्रो जीत हासिल गरेको कर्णालीले ६ खेलबाट चार अंक जोड्दै छौटौँ स्थानमा रहेर प्रतियोगिता सकाएको छ। यता पराजित बागमती भने समान खेलबाट चार अंकसहित पाँचौं स्थानमा रह्यो ।

कर्णाली प्रदेशले दिएको ७६ रनको लक्ष्य पछाएको बागमती १८.३ ओभरमा सबै विकेट गुमाएर ५५ रन मात्रै बनाउन सक्यो ।

बागमतीका लागि रोहन विश्वकर्मा १३ रन बनाउँदा कप्तान उत्तम बगरले १० रन बनाए। बागमतीलाई कम स्कोरमा रोक्न कर्णालीका विपिन शर्माले चार विकेट लिए भने, अनुज चनारा र युनिस ठाकुरले तीन तीन विकेट हात पारे ।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २०.५ ओभरमा सबै विकेट गुमाएर ७५ रन बनाएको थियो ।

कर्णालीको लागि विजय बोराले १६ र कमल विष्ट १५ रन बनाउन सके। यता बागमतीका लागि दिनेश विष्टले सर्वाधिक पाँच विकेट हात पारे भने दयानन्द मण्डल तीन तथा दिपक सेरालाले दुई विकेट हात पारे ।

यस्तै अर्को खेलमा फाइनल यात्रा तय गरेको लीम्बनी प्रदेश मधेस प्रदेशसँग पराजित भएको छ । लुम्बिनीले दिएको ७१ रनको सामान्य लक्ष्य मधेस प्रदेशले २७ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।

मधेशका लागि मायन यादवले २२ र इम्रान शेखले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका लागि रमेश कुर्मीले चार,  सन्तोष यादवले तीन र निर्मल गुरुङले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले २० ओभरमा सबै विकेट गुमाउँदै ७० रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि समीर अली मुसमानले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । मधेशका लागि अभिषेक तिवारीले ६ ओभरमा १६ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी रञ्जित कुमारले दुई तथा रोहन साह, अफ्रुदिन राइन र निरज रायले समान एक विकेट लिए ।

पराजित लुम्बिनीले यस प्रतियोगिताको उपाधिका लागि भोलि (बुधबार) सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ । जारी प्रतियोगितामा लुम्बिनी १० अंकसहित शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको छ भने समान अंक रहेको सुदूर दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *