बङ्ग‌लादेशविरुद्धको तीन खेलको एकदिवसीय सिरिज अफगानिस्तानले जितेको छ ।

यूएईको शारजाहमा सोमबार भएको तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा ५ विकेटले विजयी भएसँगै अफगानिस्तानले श्रृंखला २-१ ले जितेको हो ।

बङ्गलादेशले दिएको २४५ रनको लक्ष्य अफगानिस्तानले १० बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्यो । अफगानिस्तानका ओपनर रहमुनल्लाह गुरबाजले १२० बलमा ५ चौका र ७ छक्काको मद्दतले सर्वाधिक १०१ रनको शतकीय पारी खेले । त्यस्तै अजमतुल्लाह ओमरजाइ ७० रन र मोहम्मद नाबी ३४ रनमा अविजित रहे ।

बङ्ग‌लादेशका नहिद राना र मुस्तफिजुर रहमानले २-२ विकेट लिँदा मेहदी हसन मिराजले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्ग‌लादेशले ५० ओभरमा ८ विकेट गुमाएर २४४ रन बनाएको थियो । महमदुल्लाहले सर्वाधिक ९८ रन बनाए भने कप्तान मेहदी हसन मिराजले ६६ रन बनाए ।

अफगानिस्तानका लागि अजमतुल्लाहले ७ ओभरमा ३७ रन खर्चेर ४ विकेट लिए। नाबी र राशिद खानले १-१ विकेट हात पारे ।

यसअघि पहिलो खेलमा अफगानिस्तान तथा दोस्रो खेलमा बङ्ग‌लादेश विजयी भएको थियो । अफगानिस्तानले गत सेप्टम्बरमा दक्षिण अफ्रिकासँगको एकदिवसीय श्रृंखला पनि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *