सेन्ट्रल एसियन (काभा) अन्तर्राष्ट्रिय पुरुष क्लब भलिबल च्याम्पियनसिप २०२४ का लागि टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले मिडल ब्लकर दुर्गाबहादुर खड्कालाई अनुबन्ध गरेको छ ।
योसँगै विभागीय टिम त्रिभुवन आर्मी क्लबका खड्का काभा भलिबल च्याम्पियसिपमा हेल्प नेपालको जर्सीमा देखिनेछन् ।
शुक्रबार हेल्प नेपाल क्लबले विज्ञप्ति जारी गरी आर्मीका मिडल ब्लकर खड्कासँग प्रतियोगिताका लागि सम्झौता भएको जनाएको छ । हेल्प नेपालबाट काभा च्याम्पियनसिप खेल्न अनुमति दिएकोमा क्लबले त्रिभुवन आर्मी क्लबलाई धन्यवाद पनि दिएको छ ।
हेल्प नेपालले प्रतियोगिताका लागि यसअघि नेपाल आर्मीका धनबहादुर भट्ट, नेपाल पुलिस क्लबका रविन चन्द, सफल विक र भिम गाहालाई अनबन्ध गरेको थियो ।
क्लबको आफ्नो मुख्य प्रशिक्षकमा उत्सव खड्काले नै निरन्तरता पाउँदा लिबेरो दीपक थापालाई कप्तान र ओपन स्पाइकर सन्जुविक्रम शाहलाई उपकप्तानको जिम्मेवारी दिएको छ । हेल्प नेपालले यसअघि काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताका लागि एपीएफका महिला भलिबल खेलाडीद्वय रेश्मा भण्डारी र निरुता ठगुन्नालाई ब्रान्ड एम्बासडर नियुक्त गरेको थियो ।
हेल्प नेपालले २२ देखि २९ मंसिरसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा हुने काभा क्लब च्याम्पियनसिप खेल्दै छ । आठौँ प्रधानमन्त्री कप एनभीए लिग च्याम्पियन बनेपछि हेल्प नेपालले काभा क्लब च्याम्पिनसिप खेल्ने अवसर पाएको हो ।
हेल्प नेपालसँगै उपविजेता गण्डकी प्रदेशले पनि नेपालको प्रतिनिधित्व गर्दै च्याम्पियनसिप खेल्नेछ । नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा क्लब च्याम्पियनसिपमा सेन्ट्रल एसियाका देशका च्याम्पियन क्लबले प्रतिपर्धा गर्नेछन् ।
