नेपाल पुलिस क्लबकी निशा दर्नालले कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिपमा तीन स्वर्ण पदक जितेकी छन् ।
नेपालस्थित कोरियाली दूतावासको सहयोग र नेपाल तेक्वान्दो संघको आयोजनामा जारी च्याम्पियनसिपमा पुलिसकी निशाले शनिबार एकल, महिला टिम र पेयर पुम्सेमा गरी तीन स्वर्ण पदक जितेकी हुन् ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा भएको खेलमा निशाले महिला एकल पुम्से (१७ देखि ३० वर्ष उमेरसमूह) मा पुलिसकै रमिला लामालाई हराउँदै स्वर्ण जितिन् । निशाले ७.७८ स्कोर र रमिलाले ७.७४ स्कोर गरे। यसै विधामा गोदावरीकी रोशनी सिलवाल र एपिएफकी सञ्जना घर्तिमगर संयुक्त रूपमा तेस्रो भए ।
निशाले अर्को स्वर्ण महिला टिम पुम्सेमा जितिन्। निशा, रमिला र सबिना घले सम्मिलित टोलीले सर्वाधिक ६.८८ स्कोर बटुल्दै स्वर्ण जिते । यसै विधामा पोखरा तेक्वान्दो रजत पदक जित्न सफल भयो। अस्मिका मानन्धर, रितु बुढाथोकी र रक्षा पुर्जाको टोलीले ६.६४ स्कोर बटुले ।
निशाले पेयर पुम्सेमा अस्मिन राउतसँग मिलेर पुलिसलाई तेस्रो स्वर्ण पदक दिलाइन् । यो जोडीले सर्वाधिक ७.६३ स्कोर ल्याए । एपिएफका सञ्जना घर्तिमगर र निर्मल पुनमगरले रजत पदक जिते । यो जोडीले ७.४४ स्कोर बटुले । पुरुष एकल पुम्से (१७ देखि ३० वर्ष उमेरसमूह) मा एपिएफका निर्मल पुनमगरले स्वर्ण र पुलिसका अस्मिन राउतले रजत पदक जिते ।
निर्मलले ७.८५ स्कोर र अस्मिनले ७.७१ स्कोर बटुले । १३औं दक्षिण एसियाली खेलकुद (साग) को कांस्य पदक विजेता पुलिसका प्रेमबहादुर लिम्बु र पुलिसका अञ्जन चौधरी संयुक्त रूपमा तेस्रो भए। पुरुष टिम पुम्से (१७-३० वर्ष उमेरसमूह) मा पनि पुलिसले सर्वाधिक ७.६१ स्कोर ल्याउँदै सफलता पायो । यो टिममा प्रेमबहादुर लिम्बु, अस्मिन राउत र अञ्जन चौधरी थिए ।
ओम भण्डारी, उपासक घिमिरे र आयुष सुयालले सीतापाइलालाई रजत दिलाए । ३० वर्ष उमेरसमूहको पुम्सेमा महिलातर्फ सीता तामाङ र पुरुषमा जितबहादुर बोटले स्वर्ण जिते । दुवै पुलिसका खेलाडी हुन् ।
सीताले एपिएफकी प्रतिभा बिष्ट र जितबहादुरले एपिएफका चन्द्रबहादुर रानामगरलाई हराए । यसै उमेरसमूहको पेयर पुम्सेमा जितबहादुर र सीताको जोडीले पुलिसलाई दोस्रो स्वर्ण दिलाए । यो जोडीले एपिएफका प्रतिभा बिष्ट र चन्द्रबहादुरको जोडीलाई पछि पारे । ग्यरोगीतर्फ महिला २६ केजी तौलसमूहमुनि अस्मी धिमालले फाइनलमा हृदयानी बस्नेतलाई हराउँदै स्वर्ण जितिन् ।
दक्षता रावल र दीपिका गुरुङ संयुक्त रूपमा तेस्रो भए । २८ केजीमुनि मोनालिसा धामीले फाइनलमा जमुना भण्डारीलाई हराइन् । सुप्रिया जोशी र निसानी खड्काले कांस्य जिते । चारदिने प्रतियोगितामा ग्यरोगी र पुम्से गरी कुल ७२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भैरहेको छ ।
