कर्णाली यश्चिजले एभरेष्ट महिला भलिबल लिगमा अपराजित यात्रा कायम राख्दा ललितपुर क्विन्सले पनि उपाधि भिडन्तमा स्थान पक्का गरेको छ ।
शुक्रबार मध्यरातमा सम्पन्न लिगको अन्तिम खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सविरुद्ध ३-१ को जित निकालेपछि ललिपुरको फाइनल यात्रा पक्का भएको हो ।
दशरथ रंगशालाको कभर्ड हलमा पहिलो सेटमा कर्णालीले पहिलो सेट २५-२३ ले गुमायो । तर त्यसपछिका ३ सेटमा उत्कृष्ट पुनरागमन गर्दै कर्णाली अपराजित रहेर फाइनल यात्रा तय गर्न सफल रह्यो । काठमाडौं भने फाइनल नजिक पुगेर पनि बन्चित भयो ।
कर्णालीले दोस्रो सेट २५-१४, तेस्रो सेट २५-२३ र चौथो सेटमा २५-१२ को सहज जित निकाल्यो।
जितसँगै कर्णालीको ५ खेलमा १३ अंक पुग्यो । दोस्रो स्थानमा ललितपुर क्विन्सले ५ खेलमा १० अंक जोड्यो । काठमाडौं भने ९ अंकसहित तेस्रो स्थानमा रह्यो ।

५ खेलमा ७ अंक जोडेको चितवन शक्ति चौथो स्थान र समान खेलबाट ६ अंक जोडेको गण्डकी थन्डर्स पाँचौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ । मधेश युनाइटेड अंकविहिन रहँदै लिगको अन्त्य गर्यो ।
ललितपुर कुइन्स र कर्णाली यश्चिज बिच हुने फाइनल खेल शनिबार साढे ५ बजे हुनेछ ।
