सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको तेस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको अध्यक्षता सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले गरे।

साधारणसभामा वार्षिक प्रतिवेदन र आगामी वर्षको नीति, कार्यक्रम पारित गरिएको सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिए। आगामी वर्ष उमेर समूहका प्रतियोगिता, फारवेस्टर्न प्रिमियर लिग, फारवेस्टर्न क्रिकेट एकेडेमी सञ्चालन गर्ने, भौतिक पूर्वाधार निर्माण, र खेलाडीको क्षमता अभिवृद्धि गर्ने विषयमा पनि छलफल भएको छ।

नेपाल क्रिकेट सङ्घका अध्यक्ष चन्दले सरकार भौतिक संरचना निर्माणमा अग्रसर रहेको उल्लेख गर्दै थप सहयोगको आवश्यकता रहेको बताए। उनले भने, “क्रिकेटको माध्यमबाट नेपाल विश्वसामु चिनिएको छ। पूर्वाधार निर्माणमा सरकारले गम्भीरता देखाएको छ। आगामी पाँच वर्षमा देशका विभिन्न स्थानमा पाँच क्रिकेट रङ्गशाला बन्नेछन्, जसले खेलाडी उत्पादनमा सहयोग पुग्नेछ।”

सुदूरपश्चिम सरकारले क्रिकेटलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार र प्रतियोगिता सञ्चालनका लागि बजेटको व्यवस्था गरेकोमा धन्यवाद दिँदै चन्दले स्थानीय तहहरूले पनि क्रिकेट प्रतियोगिता सञ्चालनमा ध्यान दिन आवश्यक रहेको औंल्याए। उनले खेल क्षेत्रमा राजनीति नगर्नु पर्ने र राजनीतिलाई खेलकुदको संस्थागत विकासका लागि केन्द्रित गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष चन्दले एनपिएलको खुद नाफाको १५ प्रतिशत जिल्ला र प्रदेशलाई दिने जानकारी दिँदै उमेर समूहका प्रतियोगिता सञ्चालनमा जोड दिनुपर्ने बताए। उनले भने, “ग्रासरूटमा उमेर समूहका प्रतियोगिता सञ्चालनमा हामीले जोड दिएका छौं। यसमा जिल्ला र प्रदेशले पनि गम्भीर हुनुपर्छ। क्यानले गर्ने सहयोगमा कमी हुँदैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *