विभागीय डर्बीमा नेपाल एपिएफविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्दै नेपाल पुलिस क्लब लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ ।
शुक्रबार पोखरा-१९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा पुलिसले शनिबारको खेल २५-१६, २१-२५, २५-१९, २२-२५,१६-१४ ले आफ्नो पक्षमा पार्यो ।
फाइनल खेल शुक्रबार नै हुने तय भए पनि खराब प्रकाशका कारण शनिबारलाई सारिएको थियो ।
यसैगरी गण्डकी प्रदेशलाई हराउँदै गलकोट स्पोर्टस क्लबले तेस्रो स्थान हासिल गर्यो ।
विजेता पुलिसले १ लाख ५० हजार, उपविजेता एपिएएफले १ लाख र तेस्रो भएको गलकोटले ५० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका सञ्जुविक्रम शाह घोषित भए। उत्कृष्ट सेटर पुलिसका बलराम गुरुङ घोषित भए । उत्कृष्ट डिफेन्डर पुलिसका भीम गाहा घोषित भए । उत्कृष्ट ब्लकरको उपाधि पुलिसका सफल विकले हात पारे ।
उत्कृष्ट सर्भर एपिएफका हेमन्त मल्ल घोषित भए । उत्कृष्ट स्पाइकर एपिएफका विजय थापा घोषित भए । उत्कृष्ट प्रशिक्षक पुलिसका चन्द्र कुँवर घोषित भए । विधागत उत्कृष्ट हुने सबैले समान पाँच–पाँच हजार रुपैयाँसहित ट्रफी र मेडल हात पारे ।
शुक्रबार न्यु डायमन्ड स्पोर्टस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपिएफले महिलातर्फको उपाधि जितेको थियो ।
महिलातर्फ गण्डकीलाई हराउँदै एभरेस्ट भलिबल क्लबले तेस्रो स्थान हासिल गर्यो ।
नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा सम्पन्न प्रतियोगितामा समान चार महिला / पुरुष टोलीले सहभागिता जनाएका थिए ।
