फरक क्षमता भएका खेलाडीका लागि आयोजित गृष्मकालीन पारा ओलम्पिकको १७ औं संस्करण बुधबारदेखि फ्रान्सको राजधानी सहर पेरिसमा सुरु हुँदैछ । पेरिस ओलम्पिक २०२४ को सफल आयोजनापछि पारा ओलम्पिकको आयोजना हुन लागेको हो ।

पहिलो पटक पारा ओलम्पिकको उद्घाटन समारोह रंगशाला बाहिर प्यालेस डे ला कोनकोर्ड स्क्वायरमा हुने भएको छ । यसअघि पेरिस ओलम्पिकको उद्घाटन समारोह सेन नदीमा भएको थियो ।

पारा ओलम्पिकमा विश्वभरका ४ हजार चार सय खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा विभिन्न २२ वटा खेलका ५ सय ४९ स्पर्धा समावेश गरिएको छ । प्रतियोगिताको अधिकांश खेल पेरिस ओलम्पिकका प्रतिस्पर्धा भएका स्थानमा हुनेछ ।

पेरिस ओलम्पिकका ३५ आयोजनास्थल मध्ये १८ मा यसपल्टको पारा ओलम्पिकमा प्रयोग हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । प्रतियोगिता आगामी सेप्टेम्बर ८ सम्म चल्नेछ ।

यसैबीच, नेपालका तीन खेलाडीले पेरिस पारा ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट तेक्वान्दोकी पलेशा गोबर्धन र भरतसिंह महता तथा पौडीका भीमबहादुर कुमालले सहभागिता जनाउँदै छन् ।

हिजो (मंगलबार) सार्वजनिक भएको तेक्वान्दोको ‘ड्र’ अनुसार के-४४ विधाकै महिला ५७ केजीमुनि पलेशाले भेनेजुएलाकी मोरालेस भलेरियाविरुद्ध खेल्नेछिन् । यो स्पर्धामा ११ खेलाडी छन् । पलेशा भने एसियाली छनोट चरण पार गर्दै पेरिस पारा ओलम्पिकमा पुगेकी हुन् ।

यस्तै, के-४४ विधा अन्तर्गत पुरुष ५८ केजीमुनिको तौलमा भरतले पहिलो चरणमा जापानका मित्सुया तानाकासँग खेल्नेछन् । सो खेल पेरिसस्थित ग्रान्ड प्यालेसमा भोलि हुनेछ । सो स्पर्धामा १२ खेलाडी सहभागी छन् ।

भरत वाइल्ड कार्ड मार्फत पेरिसमा छनोट भएका हुन् । पौडीका भीमबहादुरले पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले सन् २००४ को ग्रिस पारा ओलम्पिकदेखि सहभागिता जनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *