सेन्ट लुसियाकी जुलियन अल्फ्रेडले आफ्नो देशका लागि पहिलो ओलम्पिक पदक जितेकी छिन् । पेरिस ओलम्पिक अन्तर्गत महिला सय मिटर दौडमा उनले स्वर्ण जित्दै इतिहास रचेकी हुन् ।
२३ वर्षीय अल्फ्रेडले फाइनलमा १०.७२ सेकेन्ड समयका साथ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् ।
अमेरिकी विश्व च्याम्पियन शाकारी रिचर्डसनले १०.८७ सेकेन्डमा दौड पूरा गर्दै रजत पदक जितिन् भने फ्रान्सकी मेलिसा जेफरसन (१०.९२) तेस्रो भएकी छन् ।
२ लाखभन्दा कम जनसंख्या भएको क्यारेबियन टापु सेन्ट लुसियाले यसअघिका सात ओलम्पिकमा भाग लिए पनि कुनै पदक जित्न सकेको थिइनन् । सेन्ट लुसिया क्षेत्रफलको हिसाबमा १८औं र जनसंख्याको आधारमा २० औं सानो देश हो।
अल्फ्रेडले आफ्नो देशको लागि ऐतिहासिक स्वर्ण पदक जित्ने क्रममा पेरिसमा मुसलधारे वर्षा हुँदा पनि सय मिटर दौडमा आफूलाई अब्बल सावित गरिन् ।
दौडको सुरुवाती क्षणमा उनी अगाडि थिइनन्। तर बीचमा उनले अमेरिकी रिचर्डसनलाई पार्न सफल भइन् ।
ऐतिहासिक ओलम्पिक स्वर्ण जितेपछि उनले खुसीका साथ उत्सव मनाउँदै आफ्नो जर्सीमा टासिएको आफ्नो नाम समर्थकको भिडमा उपहारस्वरुप फ्याँकेकी थिइन्। त्यसपछि उनी आफ्ना दिगंवत बुवालाई सम्झिएर भावुक भइन् ।
‘म भगवान र मेरो बुबाको बारेमा सोच्दै छु, जसले मलाई देख्न पाएनन्,’ अल्फ्रेडले भनिन्, ‘उहाँको २०१३ मा निधन भयो । बुबा, यो तपाईंको लागि हो । म तपाईंलाई सम्झिरहेको छु। मैले यो बुबको लागि गरें, मैले यो मेरो कोच र भगवानको लागि गरें ।’
अल्फ्रेडले यसअघि सन् २०२४ को सुरुवातमा विश्व इन्डोरको ६० मिटरमा स्वर्ण जितेकी थिइन्। सो स्वर्ण पनि उनको देशका लागि पहिलो स्वर्ण थियो।
२०२२ को कमनवेल्थ खेलकुदको रजत पदक विजेता अल्फ्रेडले सिजनमा लगातार व्यक्तिगत समय सुधार गरेकी थिइन्। लगातार राष्ट्रिय कीर्तिमान बनाउँने क्रममा उनी ओलम्पिक च्याम्पियन बन्न सफल भइन्।
उनी हाल अमेरिकाको टेक्सासस्थित अस्टिनमा बस्दै आएकी छिन्। जहाँ उनले प्रशिक्षक एड्रिक फ्लोरेलको नेतृत्वमा प्रशिक्षक लिएकी थिइन्। उनी विश्व च्याम्पियनसिप २०२३ मा सय मिटर र दुई मिटर दुबैमा फाइनलमा पुगिन् र क्रमशः पाँचौं र चौथो स्थानमा रहन सफल भएकी थिइन्।
