पेरिस ओलम्पिक २०२४ मा खेलाडी र प्रशिक्षकबाहेक अन्य सहभागीको खर्च सरकारले नबेहोर्ने भएको छ।

युवा तथा खेलकुद मन्त्रालयका उपसचिव लेखनाथ न्यौपानेका अनुसार नेपाल ओलम्पिक कमिटीको खर्चबाट सहभागी हुने खेलाडी र प्रशिक्षकबाहेक अन्य सहभागीको हकमा सरकारको स्रोतबाट पकेटलगायत अन्य खर्च नबेहोर्ने निर्णय भएको हो।

‘विभिन्न मितिमा प्राप्त पत्रमा सहभागीहरूको नामावली र खर्च बेहोर्ने स्रोत उल्लेख गरी राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम स्वीकृतिको लागि पत्र प्राप्त भएको छ। साउन ३२ ८ गतेको मन्त्रीस्तरीय निर्णयबाट बमोजिम कार्यान्वयन गरिनेछ,’ उनले भनेका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट खर्च बेहोर्ने गरी खेलाडी र प्रशिक्षकबाहेक प्रस्तावित सहभागीको हकमा औचित्य पुष्टि नभएको उनले बताए। त्यसैले उनीहरूलाई स्वीकृति प्रदान नगर्ने निर्णय भएको उनले जानकारी दिए। खेलाडी र प्रशिक्षकलाई भने स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।

नेपालबाट सात खेलाडीसँगै २९ सदस्यीय टोली पेरिस ओलम्पिकमा पुगेका थिए। टेबल टेनिसमा स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनमा प्रिन्स दाहाल, पौडीमा एलेक्जेन्डर शाह तथा डुवाना लामा, सुटिङमा सुस्मिता नेपाल, जुडोमा मनिता श्रेष्ठ प्रधान र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले सहभागिता जनाएका थिए। सन्तोषीबाहेक अन्य खेलाडी बाहिरिइसकेका छन्।

सन्तोषीको खेल पेरिस ओलम्पिकको अन्तिम दिन अगस्ट ११ मा हुनेछ। राजेन्द्र कपाली स्यान्टुको प्रशिक्षकको भूमिकामा पेरिस पुगेका थिए। देवु थापा मनिता, नयना शाक्य एलेक्जेन्डर तथा डुवाना र कान्तिकुमारी महतो सन्तोषीका प्रशिक्षक हुन् ।

यीबाहेक टिम अफिसियलको रूपमा नेपाल पौडी संघका निवर्तमान अध्यक्ष अशोकरत्न बज्राचार्य, जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, सुटिङका अध्यक्ष पुष्पदास श्रेष्ठ, टेबल टेनिसका अध्यक्ष ज्योति राणा, रेस्लिङ संघका अध्यक्ष प्रकाशकुमार कुसारी तथा नेपाल ओलम्पिक कमिटीका सहसचिव पीताम्बर तिम्सिना पेरिस पुगेका थिए।

यस्तै, अफिसियल भन्दै राखेपका आर्थिक प्रशासन शाखा प्रमुख रिखीराम पोखरेल, नविसमानसिंह प्रधान (डाक्टर), खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेप सदस्यसचिव टंकलाल घिसिङ (सेभ दि मिसन) पेरिस पुगे। उनीहरूबाहेक ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठ, कार्यकारी सचिव सुजनलाल श्रेष्ठ, सदस्य रमेश सिवाकोटी र पृथ्वीबहादुर पाण्डे अतिथिको रूपमा पेरिस पुगेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *