काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले पहिलो पराजय भोगेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा नेपाल इरानसंग ३-२ को सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट १६-२५ ले गुमाएपनि दोस्रो सेट २५-१६ ले नै जित्दै खेलमा १- १ को बराबरीमा फर्काएको थियो ।
निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट इरानले २५- २३ ले आफ्नो पक्षमा पारेपछि खेल चौथो सेटमा धकेलिएको थियो । उक्त सेटमा भने नेपालले उत्कृष्ठ पुरागमन गर्दै २५-१५ ले एकतर्फी रुपमा खेल आफ्नो पक्षमा बनाउन सफल भयो ।
पाँचौ तथा अन्तिम सेटमा इरानसँग स्तब्ध हुँदै नेपालले १३-१५ खेल सुम्पन पुग्यो ।
पराजित नेपालको तीन खेलमा ६ अंक रहेको छ । यसअघि नेपालले श्रीलंकालाई ३-० र भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो । हारका बाबजुत नेपाल सहित श्रीलंका, भारत र इरान सेमिफाईनलमा पुगेको छ ।
नेपालले लिग चरणको अन्तिम खेलमा सोमबार माल्दिभ्सको सामना गर्नेछ ।
