ओपनर सम्झना खड्काको अर्धशतकीय पारीमा नेपालले एसीसी महिला टी-२० एशिया कपमा ऐतिहासिक जित दर्ता गरेको छ । एशिया कप २०२४ अन्तर्गत शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ६ विकेटले पराजित गरेको हो ।

श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै ११८ रन बनाएर पुरा गर्यो। उक्त लक्ष्य पुरा गर्न नेपालको तर्फबाट सम्झना खड्काले ४५ बलमा ११ चौकाको प्रहार गर्दै अविजित ७२ रनको अर्धशतकीय पारी खेलिन् ।

यस्तै रुबिना क्षेत्रीले ८ बलम १०, सिता राना मगरले १७ बलमा ७ तथा कप्तान इन्दु वर्मा १० बलमा ६ रन जोडेर आउट भइन् । बलिङमा युएईका लागि कविशा इगोडेजले ३ र लावन्या केनीले १ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभमार ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । युएईका लागि खुसी शर्माले सर्वाधिक ३६, कविशा इगोडेजले २२, समाइरा धरनिधर्क १३ र कप्तान तथा ओपनर ईशा ओजाले १० रन जोडेकी थिइन् ।

बलिङमा नेपालका लागि कप्तान इन्दु वर्माले ३ तथा सवनम राई, कविता जोशी र कृतिका मरासिनीले १-१ विकेट लिएकी थिइन् । यो नेपालले महिला एशिया कपमा हासिल गरेको ऐतिहासिक जित हो।

यसअघि दुई पटक एशिया कप खेलिसकेको नेपाली टोलीले कुनै पनि खेलमा जित हासिल गर्न सकेको थिएन । जितसँगै नेपालले पहिलो खेलबाट महत्वपूर्ण २ अंक जोडेको छ ।

नेपाल एशिया कपमा लागि समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै भारत, पाकिस्तान र युएई छन् । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्ड छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *