नेपालका पुरुष र महिला टोलीले भुटानमा हुने काभा बिच भलिबल च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन् । भुटानको थिम्पुस्थित चालिमिथाङ नेसनल स्टेडियममा १७ देखि १९ असोजसम्म प्रतियोगिता आयोजना हुँदै छ ।
उक्त च्याम्पियनसिपमा नेपालको तर्फबाट महिलामा कमला पुन र मनिषा चौधरी तथा पुरुषमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले चुनौती दिनेछन् ।
उनीहरूलाई रूपेश विष्टले प्रशिक्षण दिनेछन् । नेपाली टोलीलाई आइतबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, राखेपका निमित्त सदस्यसचिव अञ्जन धमला र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले विदाइ गरेका थिए ।
नेपालले उक्त च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ । यद्यपि नेपाली टोलीले तयारी भने पर्याप्त गरेको छैन । महिला टोलीले १५ दिन र पुरुष टोलीले एक हप्ता मात्र प्रशिक्षण गरेका छन् । नेपालले दुई वर्षअगाडि मात्र बंगलादेशको कक्स बजारमा सम्पन्न एभिसी सेन्ट्रल जोन बिच भलिबलमा नेपालका पुरुष र महिला टोली दुवैले रजत पदक जितेका थिए ।
त्यतिबेला पनि पुरुषमा मानबहादुर र दिलबहादुर तथा महिला कोपिला र कमला पुनको जोडीले रजत पदक जितेका हुन् । यस पटक कोपिलाको स्थानमा मनिषा छिन् । पाल्पामा भएको सञ्जय स्मृति बिच भलिबलमा च्याम्पियन जोडी कमला र मनिषालाई थिम्पुको लागि छनोट गरिएको नेपाल भलिबल संघका अध्यक्ष चन्दले जानकारी दिए ।
पुरुषमा भने कीर्तिपुरमा भएको प्रतियोगिताबाट छनोट आधार मानिएको संघले जनाएको छ । थिम्पुमा हुने बिच भलिबलमा पुरुषमा १० टिम र महिलामा ७ टिमको प्रतिस्पर्धा रहनेछ । महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालका बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेल्नेछन् । पुरुषमा भने नेपाल, माल्दिभ्स, उब्जेकिस्तान, तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गर्दै छन् । उक्त च्याम्पियनसिपमा खेल्ने नेपाली टोली सोमबार भुटानतर्फ प्रस्थान गने तालिका छ ।
