नेपालमा आयोजना हुने काभा महिला नेसन्स भलिबल लिग २०२४ को ट्रफी सार्वजनिक भएको छ । नेपाल भलिबल संघ (एनभीए) ले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै लिगको ट्रफी सार्वजनिक गरेको हो । कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतोले लिगको विजेताले पाउने ट्रफी अनावरण गरेका थिए ।
काभा नेसन्स लिग यहि साउन १७ देखि २३ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुदैछ । यस प्रतियोगितामा नेपालसँगै भारत, इरान, श्रीलंका र मालदिभ्स गरि पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
नेपालले उद्घाटन खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो दिनमै भारत र इरानबीच दोस्रो खेल हुनेछ । नेपालले दोस्रो खेल साउन १८ गते भारतसँग, तेस्रो खेल साउन १९ गते इरानसँग र चौथो खेल साउन २० गते माल्दिभ्ससँग खेल्नेछ ।
लिग चरणको खेलपछि शीर्च चारमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो भएको टोलीबीच सेमिफाइनल खेल हुनेछ ।प्रतियोगितामा लिग चरणका १० सेमिफाइनल २ तथा फाइनल र तेस्रो स्थान खेल गरी कूल १४ खेल हुनेछ ।
नेपाल भलिबल संघले काभा नेसन्स लिग आयोजना गर्न लागेको यो पहिलो पटक हो । नेपालले गत वर्ष महिलातर्फको काभा महिला च्याम्पियनसिप २०२३ आयोजना गरेको थियो ।
नेसन्स लिगको तयारीमा रहेको नेपाली टोलीले यसै साता घरेलु कोर्टमा रसियन महिला भलिबल टोलीसँगको दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले रसियन टोलीसँगको मैत्रीपूर्ण खेलबाट नेपाली खेलाडीले आफ्नो कमजोरी पत्ता लगाई नेसन्स लिगमा त्यसलाई सुधार गर्ने मौका पाएको बताए ।
यस्तै मैत्रीपूर्ण खेल र टोलीको ५० दिनदेखिको तयारीले खेलाडी उत्साहित हुनुका साथै उनीहरुको मनोबल उच्च भएकोले नेसन्स लिगको ट्रफी नेपालले नै उचाल्ले विश्वास लिएको पनि प्रशिक्षक भट्टले बताए ।
यस प्रतियोगितामा विशेष सहयोगिको रुपमा राष्ट्रिय खेलकुद परिषद् हस्पिलेटी पार्टनर, होटेल एभरेष्ट र मेडिकल पार्टनरको रुपमा नेपाल नेशनल हस्पीटल रहेका छन्।
प्रतियोगितालाई भव्य र सव्य रुपमा सम्पन्न गर्नका लागि संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा विभिन्न २१ वटा उप- समिति गठन गरि कार्यहरु भइरहेको संघले जनाएको छ । साथै यस प्रतियोगिताको सम्पुर्ण तयारी समेत भईसकेको संघले जानकारी गराएको छ ।
