विश्व एक्वेटिक्स दिवसका अवसरमा भएको प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको पहिलो दिन शनिबार दिवाकर अवाले र अजलकाजी तण्डुकारले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा भएको प्रतियोगितामा दिवाकरले पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी २ मिनेट ३०.१५ सेकेन्डमा पूरा गर्दै शुभम शर्माको कीर्तिमान भंग गरे।

नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा शुभमले २ मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान बनाएका थिए।

यसैगरी अजलले पुरुष ५० मिटर बटरफ्लाइमा २५.५२ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका छन्। अजलले २६औं राष्ट्रिय पौडी प्रतियोगितामा आफैले बनाएको २५.६७ सेकेन्डको कीर्तिमानमा सुधार गरे।

जम्मा ६५ स्पर्धा समावेश प्रतियोगिताको पहिलो दिन ३१ स्पर्धा सम्पन्न भएको प्रतियोगिता संयोजक आयोजक संघका महासचिव ईश्वर कार्कीले जनाएका छन्।

नेपाल पौडी संघद्वारा आयोजित प्रतियोगिताका बाँकी स्पर्धा आइतबार हुनेछ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए। प्रतियोगितामा ३५१ खेलाडीको सहभागिता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *