आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा २८ रनले पराजित गरेको छ । ‘सुपर-८’ चरणको खेलमा अस्ट्रेलियाले हासिल गरेको यो पहिलो जित हो ।
‘सुपर-८’ चरणको ‘समूह-१’ तालिकामा चारवटै टोलीले एक-एक खेल खेलिसकेका छन् । दुई अङ्कसहित अस्ट्रेलिया पहिलो र समान अङ्क जोडेको भारत दोस्रो स्थानमा छन् । पहिलो खेलमा पराजित भएको अफगानिस्तान तेस्रो र बङ्गलादेश चौथो स्थानमा छन् । उक्त समूहको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो ।
अस्ट्रेलियाविरुद्धको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ११.२ ओभरमा केवल दुई विकेट गुमाएर एक सय रन बनाएपछि वर्षाले खेल प्रभावित भएको थियो ।
वर्षा नरोकिएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा अस्ट्रेलिया विजयी भएको थियो । जितसँगै अस्ट्रेलियाले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।

