नेपाल आर्मीले सीता दाहाल राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि जितेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा शुक्रबार आर्मीले एपीएफलाई २५- २४ को साँघुरो अन्तरले पराजित गरेको हो ।

उपाधिसँगै आर्मीले १ लाख र उपविजेता एपीएफले ५० हजार नगद पुरस्कार पाए । तेस्रो भएका नेपाल प्रहरी र सुदूरपश्चिमले समान २५-२५ हजार नगद पुरस्कार हात पारे ।

अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगितामा आर्मीकी अनुजा कुलुङ राई उत्कृष्ट खेलाडी घोषित भइन् । अनुजाले ११ हजार नगद पुरस्कार पाइन् ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य-सचिव टंकलाल घिसिङ लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

असार ४ गतेदेखि सुरु भएको प्रतियोगितामा ५ प्रदेश (गण्डकी/कर्णाली बाहेक) र तीन विभागीय टोली गरी ८ टिमले प्रतिस्पर्धा गरेको आयोजक संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य-सचिव घिसिङले आफू परिषद्‌को नेतृत्वमा आएपछि खेलकुद नियमावली, २०७९ पारित भएको र सो नियमावलीमा भएको खेलाडी पुरस्कारसम्बन्धी व्यवस्थालाई टेकेर १९औं एसियाली खेलकुदका पदक विजेता र जारी आईसीसी विश्वकप टी-२० क्रिकेटलाई छनोट भएको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली पुरस्कृत भइसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *