आईसीसी टी-२० विश्वकपको ‘सुपर एट’मा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ७ रनले हराएको छ। प्रतियोगितामा अपराजित दक्षिण अफ्रिकाको यो निरन्तर छैटौं जित हो।
गएराति टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ६ विकेट गुमाएर १५६ रन बनाउँदा ७ रनको पराजय भोगेको हो।

प्रतियोगितामा शनिबार दुई खेल हुँदैछ। पहिलो खेलमा अहिले अमेरिका र वेस्ट इण्डिज प्रतिस्पर्धा गरिरहेका छन्। बेलुका सवा ८ बजे भारत र बंगलादेश भिड्नेछन्।
‘सुपर-८’ चरणको ‘समूह-२’ मा साविक विजेता इंग्ल्याण्ड र दक्षिण अफ्रिकाको यो दोस्रो खेल हो। यसअघि आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाले आयोजक अमेरिकालाई १८ रनले हराएको थियो।
यसैगरी इंग्ल्याण्ड आफ्नो पहिलो खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको थियो।
