आईसीसी टी-२० विश्वकप क्रिकेटको शनिबार बिहान सम्पन्न खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले नवप्रवेश अमेरिकालाई नौ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।
जितसँगै वेस्ट इन्डिजले सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राखेको छ । लगातार दोस्रो हारसँगै अमेरिकाको सेमिफाइनल पुग्ने सम्भावना भने कमजोर बनेको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले १९.५ ओभरमा अलआउट हुनुअघि एक सय २८ रन बनाएको थियो । वेस्ट इन्डिजले भने १०.५ ओभरमै केवल एक विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो ।

‘सुपर-८’ चरणको ‘समूह-२’ मा रहेका वेस्ट इन्डिज र अमेरिकाले दोस्रो खेल खेलेका हुन् । यी दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए । त्यसैले दुवै टोलीका लागि शनिबारको खेल महत्त्वपूर्ण थियो ।
‘सुपर-८’ चरणको ‘समूह-२’ मा दुई खेल खेलेको दक्षिण अफ्रिका चार अङ्कसहित पहिलो स्थानमा छ । समान खेल खेलेका वेस्ट इन्डिज र इङ्गल्यान्डको भने दुई-दुई अङ्क छ ।
अमेरिका भने आफ्नो दुवै खेलमा पराजित भएको छ । अमेरिकी टोली आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको थियो । वेस्ट इन्डिज पनि आफ्नो पहिलो खेलमा इङ्गल्यान्डसँग आठ विकेटले हारेको थियो । यसअघि शुक्रबार राति खेलिएको खेलमा दक्षिण अफ्रिकाले इङ्गल्यान्डमाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

