श्री भगवली क्लब टोखाको आयोजनामा भएको रोड टु टोटनह्याम कार्यक्रम अन्तरगत छनोट हुन सफल फुटबल खेलाडीहरुको पहिलो टोली बेङ्गलोर प्रस्थान गरेको छ ।
खेलाडीहरुलाई बिदाई गर्दै अखिल नेपाल फुटबल संघका सहमहासचिव दामोदर ‘बद्री’ भट्टराईले छनौट हुन सफल खेलाडीहरुले अनुशासनका साथ छनौट कार्यक्रममा सहभागिता जनाउने र आगामी दिनमा नेपालको प्रतिनिधित्व गर्ने उत्कृष्ट खेलाडी उत्पादन हुनेमा आफु बिश्वस्त रहेको भन्दै खेलाडीहरुलाई शुभकामना प्रदान गरेका थिए ।
श्री भगवती क्लबका अध्यक्ष इन्द्रराज जोशी तथा ब्यवस्थापक बिजेन्द्र पुडासैनीको नेतृत्वमा ३६ सदस्यीय टोलीले बेङ्गलोरको किक स्टार्ट फुटबल क्लबमा (एफसी) छनौट परिक्षण दिने छन् । परिक्षणबाट उत्कृष्ट खेलाडीको रुपमा छनोट हुन सफल खेलाडीहरुले किक स्टार्ट एफसीमा प्रशिक्षण प्राप्त गर्ने र प्रशिक्षणमा उत्कृष्ट खेलाडीहरुले टोटनह्याममा सहभागीता जनाउने कार्यक्रम संयोजक मनिष जोशीले जानकारी गराए ।
बेङ्गलोर गएको टोलीले त्यहाँ तीन दिन सम्म शारिरीक, खेल कौशलता परिक्षणका साथै अन्य प्रशिक्षण र किक स्टार्टले आयोजना गरेको प्रतियोगितामा सहभागिता जनाउने छन् । त्यस पश्चात खेलाडीहरु नेपाल फर्कने र परिक्षणमा छनौट हुन सफल खेलाडीहरुले आवश्यक प्रकृया पुरा गरे पश्चात पुन एकेडेमीमा प्रशिक्षण लिने र उक्त प्रशिक्षणमा उत्कृष्ट हुन सफल खेलाडीले टोटनह्यामको टिकट काट्ने ब्यवस्थापक बिजेन्द्र पुडासैनीले जानकारी गराए ।
टोखास्थित श्री भगवती क्लबको आयोजनामा भएको रोड टु टोटनह्यम कार्यक्रममा देशभरिका करिव ३ हजार खेलाडीहरुको सहभागिता रहेको थियो । किक स्टार्ट एफसीबाट नेपाल आएका चार सदस्यीय प्रशिक्षकहरुको टोलीले दुई दिन सम्म संचालन भएको छनोट कार्यक्रमबाट पहिलो चरणमा १४७ खेलाडीहरुलाई छनोट गरेका थिए । छनोट भएका खेलाडीहरुको दोश्रो टोली जुलाईमा बेङ्गलोर प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
