जारी आठौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा पुरुषतर्फको खेलमा नेपाल एपीएफ क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लब बिजयी भएका छन् ।
दशरथ रंगशाला कभर्ड हलमा बिहिवार भएको दिनको तेस्रो खेलमा एपीएफले कोशीलाई ३-१ को सेटमा पराजित गरेको हो ।
एपीएफले पहिलो सेट २२-२५ ले गुमाए पनि त्यसपछिका ३ सेटले २५-१२, २५–१४ र २५- १९ ले जित्दै खेल आफ्नो पक्षमा पार्यो ।
दोस्रो जित हात पारेको एपीएफले ६ खेलबाट ७ अंंक जोडेको छ । यसअघि गण्डकी, नेपाल पुलिस, त्रिभुवन आर्मी र हेल्प नेपालसँग हारेको एपीएफले बुधबार बूढानीलकण्ठमाथि जित हात पारेको थियो ।
लगातार छैटौं खेल हारेको कोशी अंंकविहिन छ । कोशी यसअघि आर्मी ,हेल्प नेपाल, गण्डकी र पुलिस र सुदूरपश्चिसँग हारेको थियो ।

त्यसैगरी बिहिवार सम्पन्न चौथो खेलमा हेल्प नेपाल स्पोर्टस क्लबले नेपाल पुलिस क्लबलाई ३-० को सेटले पराजित गरेको छ । हेल्प नेपालले खेल २५-२१, २५-२२, २५-२० ले आफ्नो पक्षमा पार्यो ।
पाँचौं जितसँगै हेल्प नेपालको ६ खेलबाट १७ अंक छ । यसअघि बूढानीलकण्ठ, कोशी, सुदूरपश्चिम एपिएफलाई हराएको हेल्प नेपाल गण्डकीसँग पराजित भएको थियो ।
पहिलो पराजय ब्यहोरेको पुलिसको समान खेलबाट १४ अंक छ । यसअघि पुलिसले सुदूरपश्चिम, बूढानीलकण्ठ कोशी, एपिएफ र आर्मीलाई हराएको थियो ।
