जारी प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फ गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश बिजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न दिनको पाँचौं खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

पहिलो सेट २५-१७ ले जितेको गण्डकीले दोश्रो सेट २४-२६ ले गुमाएको थियो । त्यसपछिका दुई सेट २५-२० र २५-२१ ले आफ्नो पक्षमा पार्दै गण्डकी विजयी भयो ।

गण्डकीको यो लगातार छैठौं जित हो । जितसँगै गण्डकीको ६ खेलबाट १७ अंक जोडेको छ । दोश्रो हार व्यहोरेको आर्मीले समान खेलमा १२ अंक छ ।

त्यसैगरी बिहिवार सम्पन्न दिनको छैठौं तथा अन्तिम खेलमा सुदूरपश्चिमले बूढानीलकण्ठ भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

सुदूरपश्चिमले खेल २५-१९, २५-१८ र २५-१८ ले जित्यो । जितसँगै सुदूरपश्चिमले ६ खेलमा ६ अंक जोडेको छ । लगातार छैठौं खेलमा पराजित बूढानीलकण्ठ अंक विहीन छ ।

नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा जेठ २६ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोली प्रतिस्पर्धा गरिरहेका छन् । लिगमा पुरुषतर्फ २८ खेल र महिलातर्फ १५ खेल हुनेछ ।

प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फको विजेता, उपविजेता र तेश्रो हुने टोलीले रु. ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै विधागततर्फ सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान ५० हजार, उत्कृष्ट लिब्रो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकले जनही रु. २०-२० हजार प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *