दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डविरुद्ध ६८ रनको जित निकाल्दै भारत आईसीसी द्वान्टी-२० विश्वकप-२०२४ को फाइनलमा प्रवेश गरेको छ ।
भारत यसअघि सन् २००७ र २०१४ मा विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । २००७ मा भएको टि-२० विश्वकपको उपाधि जित्दा २०१४ मा भने भारत श्रीलंकासँग निराश बनेको थियो ।
बिहीबार गुयनामा सम्पन्न खेलमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो । इंग्ल्यान्डले १७२ रनको लक्ष्य पछ्याउने क्रममा १६.४ ओभरमा सबै विकेट गुमाएर १०३ रनमात्र बनाउन सक्यो ।

वर्षाले प्रभावित बनेको खेल निर्धारित समयभन्दा करिब एक घण्टापछि सुरु भएको थियो । त्यसपछि पनि खेल शुरु भएको केही समयपछि पानी परेपछि खेल पुनः डेढ घण्टा रोकिएको थियो ।
भारतले अब उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल शनिबार राति नेपाली समयअनुसार ८ः१५ बजेदेखि सुरु हुनेछ ।
